हेटौंडा,/ विश्वभर फैलिएको कोरोना भाइरसले मकवानपुरको पयर्टन क्षेत्रमा पनि असर पु¥याएको छ । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य उत्तरी क्षेत्रस्थित दामन, सिमभञ्ज्याङ, चित्लाङ, कुलेखानीमा पर्यटकको संख्या ह्वात्तै घटेको छ ।
जिल्लाका उत्तरी क्षेत्र घुम्न भारतीय पर्यटकसँगै काठमाडौं, तराईका जिल्लाहरुबाट पनि उल्लेख्य संख्यामा पर्यटकहरु आउने गरेका थिए । उत्तरी क्षेत्रको दामन भ्युटावर, कुलेखानी जलाशय, चित्लाङको भेडाफार्मलगायत मनोरम दृश्यको अवलोकनको लागि पर्यटकहरु
आउने गर्दथे ।
कोरोना भाइरसको असर थाहा नगरपालिकाको ९ नं. वडास्थित चित्लाङमा देखिएको छ । यहाँका रिर्सोट र होमस्टेहरु बन्द भएका छन् । चित्लाङमा ५ वटा सुविधासम्पन्न रिसोर्ट र करिब २० वटा होमस्टे रहेका छन् । हरेक दिन सयौं पर्यटक यहाँ आउने गर्थे ।
शनिबार वडा कार्यालयमा भएको चित्लाङ पर्यटन व्यवसायी संघको बैठकले चित्लाङका रिसोर्ट र होमस्टेहरु १५ दिनसम्म बन्द गर्ने निर्णय भएको पर्यटन व्यवसायी तथा अर्गानिक भिलेज रिसोर्टका सञ्चालक देवेन्द्र नेपालले जानकारी दिए । कोरोना भाइरसबाट बच्न र स्थानीयहरुको सुरक्षाको लागि पनि रिसोर्ट र होमस्टे बन्द गर्ने निर्णय भएको नेपालले बताए ।
रिसोर्ट र होमस्टेहरुले आ–आफ्नो फेसबुक पेजमा सूचना जारी गर्दै होटल बन्द भएको जानकारी गराएका छन् । सूचना थाहा नपाएर दिउँसो चित्लाङ आउने पर्यटकहरुलाई फिर्ता पठाइने नेपालले बताए । रातको समयमा आउने पयर्टकलाई भने बासको व्यवस्था गर्ने निर्णय भएको उनको भनाइ छ। बैठकले वडामा पिकनिकलगायतका कार्यक्रममा पनि रोक लगाउने निर्णय गरेको छ ।
यता बागमती प्रदेश सरकारले पनि प्रदेशभित्रका होटल, रिसोर्टहरु बन्द गर्ने बिहीवार निर्णय गरेको थियो । होटलमा अत्याधिक मानिसको भिड हुने र कोरोना भाइरस सर्न सक्ने सम्भावना बढी भएकोले होटल, रिसोर्ट बन्द गर्ने निर्णय गरेको हो ।