हेटौंडा/मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा तीन वर्षभित्र प्रादेशिक औद्योगिक क्षेत्र बन्ने भएको छ । बागमती प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ । तीन वर्षभित्रमा सञ्चालनमा आउने गरी सरकारले यसै वर्षबाट भौतिक पूर्वाधार निर्माणको काम थाल्ने उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले जानकारी दिए ।
उनका अनुसार प्रदेशकै गौरवको परियोजनाको रूपमा रहेको यस परियोजना प्रदेश सरकारले आगामी तीन वर्षभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याउने गरी तयारी अगाडि बढाएको हो ।
मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी गाउँपालिकाको ६, ७, ८ र ९ तथा सिन्धुलीको
हरिहरपुर गढी गाउँपालिका–४ स्थित नदी उकास जग्गामा औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको हो । ‘औद्योगिक क्षेत्र निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार गरी नदी किनारमा औद्योगिक क्षेत्र स्थापना गर्न लागिएको हो । अब दुवै स्थानमा पूर्वाधार निर्माण तीब्ररुपमा अगाडि बढ्नेछ ।’ मन्त्री नेपालले भने ।औद्योगिकीकरणलाई प्राथमिकता दिएको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले औद्योगिक क्षेत्रका लागि आवश्यक पूर्वाधार निर्माण गर्न बोलपत्र आह्वान गरेको गर्ने मन्त्रालयका उद्योग शाखा प्रमुख हेम पाठकले जानकारी दिए । मकवानपुरको मनहरी गाउँपालिकास्थित
राप्तीखोला किनार तथा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बागमती खोला किनारमा उपयोगविहीन अवस्थामा रहेको जग्गालाई औद्योगिक क्षेत्रमा परिणत गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
‘चालु आर्थिक वर्षमा नदी उकास जग्गाको संरक्षणलगायतका कार्यका लागि पा“च÷पा“च करोड रुपैया“ गरी दुई औद्योगिक क्षेत्रलाई १० करोड रुपैयाँ विनियोजन गरेका छौं ।’, पाठकले भने मकवानपुरको मनहरी गाउँपालिकामा छ सय रोपनी र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा छ सय रोपनी गरी एकहजार दुईसय रोपनीमा औद्योगिक क्षेत्र निर्माण गर्ने गरी विस्तृत परियोजना प्रस्ताव तयार गरिएको छ ।
मन्त्रालयका उद्योग शाखा प्रमुख पाठकले मकवानपुरको मनहरीमा एक हजार रोपनीसम्म औद्योगिक क्षेत्र विस्तारको सम्भावना रहेको बताए । मकवानपुरको मनहरीको ज्यामिरेदेखि सुनाचुरीसम्म बन्ने औद्योगिक क्षेत्रको सुरक्षाका लागि राप्ती खोला किनारमा तटबन्ध बाँधिने उनले बताए ।
औद्योगिक क्षेत्र निर्माणको प्रारम्भिक चरणमा खोला किनारमा औद्योगिक क्षेत्र स्थापना गर्ने जग्गाको संरक्षणका लागि तटबन्ध निर्माण, नदी उकास र तारजालीसहित कंक्रिट पर्खाल निर्माण गरिने बताइएको छ । ‘जग्गाको संरक्षणको कामसँगै ढल, सडक, विद्युतीकरणका काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने योजना रहेको छ,’ उनले भने, ‘यसै आर्थिक वर्षबाट काम अगाडि बढ्नेछ ।’