हेटौंडा/सडक डिभिजन कार्यालय हेटौंडाले सडक निर्माण तथा मर्मतको लागि विभिन्न समयमा सम्झौता गरी काम सम्पन्न नगरी अलपत्र पार्ने ५६ वटा निर्माण कम्पनीसँग ठेक्का तोड्ने भएको छ । लामो समयसम्म पनि काम सम्पन्न हुन नसकेको भन्दै ठेक्का तोड्ने र उनीहरुको लापरबाहीको अवस्था हेरी जरिवानादेखि कालोसूचीमासमेत राख्ने तयारी गरिएको छ ।
शुक्रबार सूचना प्रकाशित गरी सडक डिभिजनले लामो समयसम्म पनि काम सम्पन्न हुन नसक्नुको पुष्ट्याईंसहित एक हप्ताभित्र कार्यालयमा निवेदन माग गरेको छ । आगामी शुक्रबारसम्म पनि चित्तबुझ्दो निवेदन प्राप्त नभए उनीहरुलाई योजनाको कुल लागतको १० प्रतिशत जरिवाना र ठूलो लापरबाही भेटिए कालोसूचीको लागिसमेत सिफारिस गरिने सडक डिभिजन हेटौंडाका प्रमुख सुमन योगेशले जानकारी
दिए । ‘ठेक्का सम्झौता गरी लामो समयसम्म काम पनि सम्पन्न नगर्ने र म्याद थपको लागि पटकपटक आह्वान गर्दा पनि बेवास्ता गर्ने कम्पनीहरुसँग हामीले सम्झौता रद्द गर्न लागेका हौं । हामीले प्रकाशित गरेका सूचीअनुसारका निर्माण व्यवसायीहरुसँग एक हप्तापछि स्वतः सम्झौता त रद्द हुन्छ नै हामीलाई चित्त बुझ्दो जवाफ आएन भने हामीले जरिवानाका साथै कालोसूचीका लागिसमेत सिफारिस गर्छाैं ।’ कार्यालय प्रमुख योगेशले भने ।
सार्वजनिक खरिद नियमावली २०६४ को नवौं संशोधनबमोजिम म्याद थपको लागि आवश्यक कागजातसमेत पेश
नगरेका ५६ वटा निर्माण कम्पनीले ७ दिनभित्र जवाफ पेश गर्न सूचनामा भनिएको छ । काम सम्पन्न हुन नसक्नुको पुष्ट्याईंसहित चित्तबुझ्दो जवाफ नआएमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (२) क तथा दफा ७, ८ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम ठेक्ककाक तोडी कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ ।
ठेक्का तोड्नेबारे सडक डिभिजनले जारी गरेको सूचनमा सबैभन्दा धेरै पर्साका व्यवसायी छन् । ठेक्का तोड्नुपर्ने किसिमका ५६ मध्ये पर्साका २१ वटा छन् भने मकवानपुरका १८ निर्माण व्यवसायी छन् । त्यस्तै बाराका १३ वटा निर्माण कम्पनी रहेका छन् । यसबाहेक चितवन, रौतहट र काठमाडौंका केही निर्माण कम्पनीहरु छन् ।
सडक डिभिजनको सूचनाअनुसार मकवानपुरको बी ब्रदर्श निर्माण सेवा, बिएस निर्माण सेवा, दामु चन्द्रमाला कन्स्ट्रक्सन, गोपाली एण्ड सन्स बिल्डर्स, जीपीबी कन्स्ट्रक्सन, हेटौंडा कन्स्ट्रक्सन,
कार्की निर्माण सेवा, मुन्ना बिल्डर्स, ओमास कन्स्ट्रक्सन, पञ्चकन्या कन्स्ट्रक्सनको ठेक्का तोड्नुपर्ने अवस्थाका रहेका छन् । त्यसैगरी मकवानपुरकै आरएस निर्माण सेवा, राना÷पाख्रिन हेटौंडा, साहारा कन्स्ट्रसन, सद्गुण निर्माण सेवा, शर्मिला निर्माण सेवा, सिद्धबाबा÷सद्गुण युथ जेभी, श्री विनायक कन्स्ट्रक्सन र सुसन कन्स्ट्रक्सनसँग पनि ठेक्का तोडी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।