हेटौंडा, / बागमती प्रदेशको स्थायी राजधानी तोकिएसँगै हेटौंडाको जनघनत्व पनि बढ्दो छ । सोको असर खानेपानी वितरणमा पनि देखिएको छ ।
खानेपानी व्यवस्थापन बोर्ड समक्ष नयाँ धाराहरु जडानको लागि निवेदन दिनेको संख्या बढ्दै गए पनि बोर्डले भने प्रयाप्त पानी उपलब्ध गराउन कठिन हुन थालेको छ । हेटौंडाको जनघनत्वको बढ्दै जाँदा पानीको खपत पनि अत्याधिक रुपले बढेको छ । यहाँ विगतका दिनमा भन्दा राजधानी कायम भएपछि पानीको खपत बढेको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।
बोर्डले हेटौंडा उपमहानगरपालिका–२, १० नम्बर वडाको पूरै भू–भाग र १, १४, १५, १६, १७ नम्बर वडाको केही भू–भाग गरी नगरक्षेत्रभित्र बसोबास गर्ने १ लाख २५ हजार नगरबासीलाई पानी वितरण गर्दै आइरहेको छ । सरदरमा दैनिक १ करोड ३९ लाख लिटर खानेपानी उत्पादन गर्दै १७ हजार ७ सय ९२ धाराबाट दैनिक ६–७ घण्टा पानी वितरण गर्दै आएको छ ।
बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालले १ करोड ३९ लाख पानी उत्पादन भइरहेको बताए । उनका अनुसार हेटौंडामा अझै दैनिक १६ लाख लिटर पानीको अपुग छ । हेटौंडामा अनुमानित १ करोड ५५ लाख लिटर पानीको माग रहेको कार्यकारी निर्देशक ढकालले जानकारी दिए । पानीको मागलाई परिपूर्ति गर्न बोर्डले प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा पानी उत्पादनको लागि संरचना निर्माणदेखि मर्मतसम्भार गर्ने काम गरिरहेको बताए ।
कार्यकारी निर्देशक ढकालले हेटौंडा प्रदेश राजधानी कायम भएपछि पानीको माग बढेको बताए । उनले बोर्डलाई चुनौती थपिएको बताएका छन् । बोर्डका अध्यक्ष प्रताप विष्टले हरेक महिना सरदर १ सय ५० वटा धाराको माग बढ्ने गरेको छ । ‘हरेक महिना १ सय ५० का दरले धारा संख्यामा वृद्धि हुन्छ । यसलाई हेटौंडामा महिनामै १ सय ५० का दरले घर बनिरहेको बुझ्न सकिन्छ ।’– विष्टले भने ।
हेटौंडामा जनसंख्या र जनघनत्व बढेपनि बोर्डले पानी वितरणमा सहजता ल्याउने बोर्डका अध्यक्ष विष्टले बताए । उनका अनुसार बोर्डले वृद्धि हुँदै गइरहेको पानीको मागलाई बोर्डले गम्भिर रुपले लिएको छ । बोर्डले माग अनुसार पानी उत्पादनको लागि अग्रसरता देखाएको छ ।
बोर्डले पानी गुणस्तर परीक्षण गरेर मात्र वितरण गर्ने गरेको छ । पानी परीक्षण गरेर वितरण गर्दा नगरबासीको स्वास्थ्यमा राम्रो हुने अध्यक्ष विष्टको तर्क छ । आफ्नै ल्याब स्थापना गरी पानी परीक्षण गर्ने तरिएको उनले बताए ।
बोर्डले पानी चुहावट नियन्त्रणका लागि सहरको मुख्य क्षेत्रहरुमा रात्रीकालिन निगरानी गर्ने गरिएको बोर्डका लेखापाल सञ्जय न्यौपानेले बताए। नगरका अन्य वडाहरुमा स्थानियस्तरका खानेपानी उपभोक्ता समितिहरु मार्फत खानेपानी व्यवस्थापन हुँदै आइरहेको उनले बताए । नगरको ३, ११, १२, १३, १८, १९ नम्बर वडामा उपमोक्ता समितिमार्फत खानेपानी वितरण हुँदै आएको छ ।
बोर्डले चालु आर्थिक वर्ष २०७६÷०७७ को दोस्रो चौमासिक अवधीसम्म ६ सय ३१ वटा नयाँ धारा थप गरिएको बोर्डका लेखापाल न्यौपानेले जानकारी दिए । यसैगरी बोर्डले हेटौंडा–९ कुखरेनीमा रहेको पुरानो समवेल संरक्षण कार्य, ऐतिहासिक चुरियामाई मन्दिर परिसरमा हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र चुरियामाई मन्दिर व्यवस्थापन समितिको संयुक्त लगानीमा खानेपानी व्यवस्थापन, हेटौंडा–६ चौघडास्थित चुच्चेखोलादेखि दिव्य नगरसम्म पाइपलाइन सुधार गरी विस्तार गरिरहेको छ ।
हेटौैडा वडा नं. ६, ७ र ९ मा पाइप लाइन विस्तार, नगर क्षेत्रभित्र उपभोक्ता तथा हेटौंडा उपमहानगरपालिका, वडा कार्यालयसँगको सहकार्यमा खानेपानीको पाइपलाइन विस्तार गर्न आवश्यक पर्ने विभिन्न आकारका करिब ७३ हजार ९ सय मिटर एचडीपीई पाइपहरु खरिद गरिएको लेखापाल न्यौपानेले बताए ।
बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबीचको संयुक्त लगानीमा नगरका विस्तारित वडाहरुमा खानेपानीको पूर्वाधार निर्माण गर्न लागिएको न्यौपानेले जानकारी दिए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिकासँगको संयुक्त लगानीमा संचालित रहेका आयोजनाको करिब ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको बोर्डले जनाएको छ ।
नगरक्षेत्रभित्रका विभिन्न स्थानहरुमा भूमिगत पानी रिचार्जको लागि पानी पोखरी निर्माण, पानीका मुहानहरुको संरक्षण तथा मर्मतसम्भार, भल्वहरुमा चेम्बर निर्माण गर्ने र पुराना जीर्ण पाइपहरु परिवर्तन गर्ने काम बोर्डले चालू आर्थिक वर्षमा गर्नेछ ।