हेटौंडा, / विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनो भाइर (कोभिड(१९) को सम्भावित संक्रमणलाई रोक्न बागमती प्रदेश सरकारले विभिन्न योजना निर्माण गरे पनि त्यसको कार्यान्वयनमा भने जटिलता थपिने देखिएको छ । योजनाअनुसारको स्रोत साधन र जनशक्ति प्रदेश सरकारसँग नहुँदा समस्या उत्पन्न हुने देखिएको हो ।
कोरोना रोकथामको लागि प्रदेश सरकारले जिल्लाहरुमा क्वारेन्टाइन, आइसोलेसन वार्ड तथा भेन्टिलेटरसहितको आईसियु कक्ष निर्माण गर्ने योजना बनाए पनि स्रोत साधन र जनशक्तिको लागि भने संघीय सरकारसँग निर्भर हुनुपर्ने देखिएको छ । संघीय सरकारबाट जनशक्ति र स्रोत प्राप्त नभएमा योजना कार्यान्वयनमा चुक्ने देखिन्छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आवश्यक स्रोत साधान र जनशक्तिको अभाव मेटाउनका लागि संघीय सरकारसँग विभिन्न पाँच प्रकारका सामग्री माग गरेको छ भने तीनवटा सामान खरिद प्रक्रिया अगाडि बढाएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश विष्टले जानकारी दिए ।
पीपीई सेट एकहजार वटा, इन्फारेड थर्मोमिटर पाँचसय वटा, एन ९५ मास्क पाँचहजारवटा, सेनिटाइजर एकहजार वटा र सर्जिकल मास्क एकलाखवटा संघीय सरकारसँग माग गरिएको छ । मन्त्रालयले एकथान एम्बुलेन्स, आइसोलेसन वार्डका लागि आवश्यक एकसय थान सामग्री र पाँचसय सेट क्वारेन्टाइन वार्डका लागि आवश्यक सामग्री खरिद गर्ने निर्णय गरेको छ । उक्त सामाग्रीको लागि खरिद प्रक्रिया अघि बढाइसकेको छ ।
प्रदेशका स्वास्थ्यसंस्थामा यसअघि नै आवश्यकताअनुसार जनशक्ति नरहेको बताउँदै मन्त्रालयका महाशाखा प्रमुख विष्टले कोरोना रोकथामको लागि कति जनशक्ति आवश्यक पर्छ भनेर तथ्यांक संकलनको काम गरिरहेको बताए । ‘हामीले अहिले एकसय २१ वटा सामुदायिक विद्यालयमा कार्यरत् एकसय २१ जना विद्यालय नर्सलाई आवश्यकता अनुसार अस्पतालमा परिचालन गर्ने तयारी गरेका छौं । साथै आवश्यकता अनुसार स्थानीय पालिकामा रहेका स्वास्थ्यकर्मी माग गरिने तथा मन्त्रालयअन्तर्गत्का स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेक बिदा, काज नदिन र नबस्न निर्देशन दिएका छौं ।’ विष्टले भने ।
प्रदेश सरकारले कोरोना भाइरसका शंकास्पद बिरामीलाई उपचार गर्न हेटौंडामा पाँचसय शैयाको क्वारेन्टाइन कक्ष निर्माण गर्ने गरी तयारी अगाडि बढाइसकेको र अन्य जिल्लाहरुलाई पनि आवश्यकता अनुसार तयारी गर्न निर्देशन दिइएको बताए । कोरानाको शंकास्पद बिरामीहरु निगरानी तथा व्यवस्थापनका हेटौंडा–११ नवलपुरस्थित हेटौंडा एकेडेमीमा २ सय शैया, हेटौंडा–१० मा रहेको वनविज्ञान अध्ययन संस्थानमा १ सय शैया, हेटौंडा–६मानिर्माणाधीन गौरिटार खेलकुद एकेडेमीमा १ सय शैया, हेटौंडा अस्पतालमा १ सय र कर्रा खोलामा रहेको सशस्त्र प्रहरी क्याम्पमा १ सय शैयाकोक्वारेन्टाइन कक्ष निर्माण गर्न लागिएको सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए । प्रदेश सरकारले भक्तपुर अस्पतालमा ५, सिन्धुपाल्चोक अस्पतालमा ५, रसुवा अस्पतालमा ४, नुवाकोट अस्पतालमा ५, धादिङ अस्पतालमा ५, रामेछाप अस्पतालमा २, सिन्धुली अस्पतालमा ३, चितवन (भरतपुर) अस्पतालमा ५०, जिरी, मेथिनकोट, बगौडा र बकुलहर अस्पतालमा गरी ५० शैयाको आइसोलेसन वार्ड व्यवस्थापन गर्न निर्देशन गरिसकेको मन्त्री दुलालले बताए । प्रदेश सरकारले हेटौंडा अस्पतालमा १०, भरतपुर अस्पतालमा ५, सिन्धुली अस्पतालमा ५, चितवन (भरतपुर) अस्पतालमा २०, जिरी, मेथिनकोट, बगौडा, बकुलहर अस्पतालमा १०, निजी अस्पताल (मेडिकल कलेजहरुमा) १ सय शैयाको भेन्टिलेटरसहितको आइसियु कक्ष स्थापना कार्यलाई तीब्ररुपमा अगाडि बढाइरहेको छ । कोरोना भाइरस व्यवस्थापन गर्न प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत ५ करोडरपैयाूँबराबरको सामग्रीको व्यवस्था गर्ने गरी काम गरिरहेको मन्त्रालयले जनाएको छ । प्रदेश मातहतका अस्पतालहरूबाट छट्टै ‘फेबर क्लिनिक’ सञ्चालन गर्ने र प्रदेशभित्रका अस्पतालबाट समेत यसको व्यवस्थापनका लागि अनुरोध गर्ने, प्रदेशका मुख्य सडक नाका तथा बसपार्कहरूमास्वास्थ्यसहायताकक्ष सञ्चालन गर्नेलगायतका कामहरु प्रदेशले गरिरहेको छ ।