हेटौंडा/विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट मुक्तिको कामना गर्दै हेटौंडामा आइतबार हवन गरिएको छ । हेटौंडा–५ मा रहेको गायत्री चेतना केन्द्रको आयोजना तथा मकवानपुर होटल एशोसिएसनको आयोजनामा हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिर
परिसरमा हवन यज्ञको आयोजना गरिएको हो ।
हवनमा विशेष किसिमका वस्तुहरु जलाउँदा निस्कने धुवाँको कारण बायुमण्डल र वातावरण शुद्ध हुने र विभिन्न किसिमका रोगव्याधीहरु घट्दै जाने वैज्ञानिक आधारमा यज्ञ हवन गरिएको गायत्री चेतना केन्द्रकी अध्यक्ष मधु जैनले बताइन् । कोरोना भाइरसबाट मुक्तिको साथै विश्वभर नै शान्ति र रोगव्याधी न्युनीकरण गर्न हवनले सहयोग गर्ने जैनले विश्वास व्यक्त गरिन् । विभिन्न मन्त्र पढी जप गरी हवन गरिएको र यसले
वातावरण शुद्धीकरण र रोगव्याधीको विस्तारै अन्त्य हुँदै जाने गायत्री
परिवार हेटौंडाका सचिव मुकेशकुमार सिंहले बताए । मनमा शान्ति र विश्वासलाई वृद्धि गर्नको लागि पनि यज्ञले सहयोग गर्ने भएकाले होटल एशोसिएसनले यञ गर्न सहकार्य गरेको एशोसिएसनका अध्यक्ष शंकरलाल श्रेष्ठले जानकारी दिए । हवन कार्यक्रममा विश्व हिन्दु परिषद् मकवानपुरका अध्यक्ष
राजाराम वर्मालगायतको उपस्थिति रहेको थियो ।