हेटौंडा, / हेटौंडाका एक व्यवसायीले यहाँस्थित क्वारेन्टाइनमा राखिने शंकास्पद
बिरामीहरुलाई निःशुल्क पानी दिने घोषणा गरेका छन् ।
हेटौंडा–९ मा रहेको नेचुरल वेभरेजले क्वारेन्टाइनमा बस्ने कोरोना भाइरस संक्रमणको शंकास्पद विरामीहरुलाई प्रशोधित पिउने पानी निःशुल्क उपलब्ध गराउने भएको हो । नेचुरल
वेभरेजका सञ्चालक ध्रुव अधिकारीले क्वारेन्टाइनमा बस्ने बिरामीहरुलाई पानी निःशुल्क वितरण गर्ने घोषणा गरेका हुन् । विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमण भएका शंकास्पद बिरामीहरुलाई क्वारेन्टाइनमा राख्न बागमती प्रदेश सरकारले हेटौंडाका ४ स्थानमा क्वारेन्टाइन बनाउँदै छ । हेटौंडा एकेडेमीमा २ सय, गौरिटार खेलकुद एकेडेमीमा १ सय, कर्रास्थित सशस्त्र प्रहरी क्याम्पमा १ सय र वनविज्ञान अध्ययन संस्थानको भवनमा १ सय गरी जम्मा ५ सय शैयाको क्वारेन्टाइन प्रदेश सरकारले बनाउँदै छ यसैगरी प्रदेश सरकारले हेटौंडा अस्पतालमा १ सय शैयाको आइसोलेटेड वार्ड र अस्पतालमै १० शैयाको भ्यान्टिलेटरसहितको आसियु कक्ष स्थापना गर्नेछ । सुपारेटार ब्यारेकस्थित मध्यपृतना हेडक्वाटरले पनि सामरी पुल नजिक ५० शैयाको क्वारेन्टाइन बनाएको छ ।
वेभरेजका सञ्चालक अधिकारीले कोरोनाले विश्व नै संकटमा रहेको अवस्थामा आफ्नो सानो सहयोगले कोरोना संक्रमित नेपालीहरुलाई राहत पुग्ने उद्देश्यले पानी निःशुल्क वितरण गर्न लागिएको बताए । वेभरेजले बजारमा ‘अमृत जल’ नामक प्रशोधित पिउने पानी (मिनिरल वाटर) उपलब्ध
गराउँदै आएको छ । उनका अनुसार क्वारेन्टाइनहरुमा आवश्यक मात्रामा पानी उपलब्ध गराइनेछ ।