हेटौंडा, / मकवानपुरका सबै सरकारी कार्यालयहरु आइतबारदेखि बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय, मालपोत, हेटौंडा उपमहानगरपालिकासहित सबै कार्यालयहरु बन्द भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइबार सूचना जारी गर्दै चैत २१ गतेसम्म प्रशासन कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सम्भाविता संक्रमणको जोखिम रोकथाम र नियन्त्रणको लागि कार्यालय बन्द गर्नुपरेको प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ । कार्यालयले शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायतकाअत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु बन्द गरेको जनाएको छ ।
जिल्लाका सबै सरकारी कार्यालयहरु बन्द हुने प्रशासनका प्रवक्ता देवचन्द्र गर्तौलाले जानकारी दिए । सबै कार्यालयहरुले अत्यावश्यक सेवा बाहेक
अन्य सेवाहरु प्रवाह नगर्ने उनको भनाई छ । कार्यालय बन्द हुने सूचना नपाएर जिल्लाका विकट क्षेत्रबाट सेवा लिन आएका सेवाग्राहीहरु रित्तो हात फर्किनु
परेको छ । बिहान करिब साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा काम लिएर आएका सेवाग्राहीलाई सुरक्षार्थ खटिएका प्रहरीहरुले फर्काइदिएका छन् । सरकारले चैत्र ९ गतेदेखि अत्यावश्यक सेवा बाहेकका सरकारी तथा निजी कार्यालयहरु बन्द गर्ने घोषणा गरेको थियो ।
‘हामीलाई कार्यालय बन्द भएको थाहै थिएन् । बिहान ५ बजेर उठेर घरबाट हिँडेको ।–’ सेवाग्राही प्रविण पाख्रिनले भने, ‘खर्च मात्रै भयो । यति टाढाबाट आउनुपर्छ जानकारी त पहिल्यै दिनु पर्छ नी ।’ नागरिकता, पासपोर्ट लगायतका काम लिएर आएका सेवाग्राहीलाई प्रशासनले चैत २२ गतेमात्रै आउन अनुरोध गरेको छ ।
मालपोत कार्यालयमा आइतबार बिहानै गेटमा सूचना टाँसेर कार्यालय बन्द भएको जनाइएको छ । मालपोत कार्यालय बाहिरबाटै सेवाग्राहीफर्किनु परेकोछ। मालपोतबाट प्रदान गरिने सेवाहरु अत्यावश्वक सेवाभित्र नपर्ने भएकोले कार्यालय बन्द रहने जनाएको छ ।