विश्वव्यापी महामारीको रुपमा तिब्र विस्तार भइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हाम्रो देश पनि उच्च जोखिममा छ । पछिल्लो समय युरोपियन देशहरु र अमेरिकालाई समेत टाउको दुखाई बनिरहेको कोरोना भाइरस संक्रमणको चिन्ताले नेपाल र नेपालीलाई पनि अछुतो राखेको छैन । सम्भावित कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले सतर्कताका लागि थुप्रै निर्णयहरु गरेको छ । आज आइतबारबाटै अत्यावश्यकबाहेकका सेवाहरु बन्द गराएको सरकारले सोमबारबाट लामो दुरीका यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाएको छ । नेपाल आउने सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गराइसकेको छ । आम नेपालीलाई कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउन बारम्बार आग्रह गरिएको भए पनि नेपालीहरुले त्यसलाई पालना गरेका छैनन् । अन्य समयमा जस्तै प्रायः सबै नेपाली सामान्य दिनचर्यामै रमाइरहेका छन्, जसले कोरोना संक्रमणको जोखिमलाई उच्च बनाइरहेको छ ।
कोरोना भाइरस संक्रमण चीनबाट सुरु भए पनि अहिले संसारभर व्यापक भइसकेको छ । विश्वका एक सय ७० देशमा यो भाइरसको संक्रमण फैलिएको छ । चीनपछि उत्तर कोरिया, इरान हुँदै इटाली, स्पेन, फ्रान्स, बेलायत, अमेरिकामा यसको असर बढी देखिएको छ । छिमेकी देश भारतमा पनि यो भाइरसको संक्रमण तिब्र बनिरहेको छ । हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण शून्य रहेको भनिए पनि कोरोना संक्रमणका विरामी हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । सरकारले अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको भने पनि विभिन्न देशबाट नेपाली तथा विदेशी लिएर आज आइतबारसम्मै विमानहरु नेपाल अवतरण भइरहेका छन् । यस्तै, छिमेकी देश भारतमा संक्रमण व्यापक बन्दै जाँदा हजारौं नेपाली र भारतीय निर्वाध नेपाल प्रवेश गरिरहेको अवस्थामा यसको संक्रमणको जोखिम बढिरहेको छ । सरकारले लामो दुरीको यातायात सेवा बन्द गरी अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आह्वान गरेको भए पनि त्यसको पालना हुनेमा आशंका छ । नेपालीहरु आफैं सचेत र सतर्क भई कोरोना संक्रमणबाट बच्न सावधान हुनुपर्नेमा त्यस्तो देखिएको छैन । आइतबार हेटौंडा बजारमा मानिस तथा सवारी साधनको चापमा कुनै कमी नआएको र बजारका सबैजसो व्यापार व्यवसाय निर्वाध सञ्चालन हुनुले सरकारको आग्रहलाई आम नागरिकले गम्भीररुपमा लिएको देखिँदैन ।
कोरोना संक्रमणबाट आक्रान्त बनेका अन्य मुलुकहरुसँगै नेपाल पनि कोरोना भाइरससँग तर्सनु आवश्यक छ । सम्भावित
कोरोना संक्रमणको सामना गर्न सरकारले आवश्यक तयारी गर्दै विभिन्न कदम चालिरहेको छ । सरकारले अहिले चालेका कदमहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । भारतमा कोरोना संक्रमण बढ्दै गएका कारण सरकारले भारतसँगका सबै नाकाबाट हुने मानिसको आवतजावतमा तत्काल रोक लगाउनुपर्छ । नेपालभित्रै पनि आम नागरिकलाई केही दिन घरभित्रै बस्ने बाध्यकारी व्यवस्था गर्नु आवश्यक छ । नेपालमा कोरोनाको संक्रमणले महामारीको रुप लियो भने स्थिति भयावह हुने सम्भावनालाई मनन गर्दै सबैले हेलचेक्र्याइँ नगरी उच्च सतर्कता र सावधानी अपनाउनु आवश्यक छ ।