हेटौंडा, ६ जेठ–हेटौंडाका ४१ जनामा कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ । आइतबार ४१ जनाको स्वाब संकलन गरी हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा सोमबार सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

प्रयोगशालामा सोमबार हेटौंडासहित रौतहट र सिन्धुलीका गरी ५६ जनाको कोरोना परीक्षण गरिएको थियो । हेटौंडाका ४१, रौतहटका ११ र सिन्धुलीका ४ जनामा कोरोना नेगेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । संकलित स्वाबको जेठ ५ गते पीसीआरबाट परीक्षण गरिएको थियो । प्रयोगशालामा मकवानपुरसहित चितवन, बारा, पर्सा, रौतहट लगायतका स्थानबाट स्वाब संकलन गरी कोरोना परीक्षण गरिँदै आएको छ ।

कोरोना परीक्षणको लागि हेटौंडा प्रयोगशालामा हालसम्म ६ सय ८९ स्वाब प्राप्त भएको छ । प्राप्त स्वाब मध्ये ५ सय २१ वटाको परीक्षण भइसकेको छ । हेटौंडा प्रयोगशालामा परीक्षण गरिएकोमा ४ जनालाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख डा.पुरुषोत्तम राज सेढाईंले जानकारी दिए । जसमध्ये ३ पुरुष र १ महिला छन् ।

बागमती प्रदेशमा हालसम्म १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । काठमाडौंका ७, चितवनका ३, भक्तपुरका २, धादिङका ३, मकवानपुरका १, काभ्रेका १ र सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण भएको हो । जसमध्ये सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

संक्रमति १८ जना मध्ये ११ जनाको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंमा ४, चितवनमा १, मकवानपुरमा १, धादिङमा २, काभ्रेमा १, भक्तपुरमा २ जनाको उपचार भइरहेको छ । बागमती प्रदेशमा ४ सय ६१ क्वारेन्टाइन तयारी अवस्थामा छ । २ सय ८३ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । प्रदेशमा सबै भन्दा बढी धादिङका मात्रै १ सय ४० जना व्यक्ति क्वारेन्टाइनमा बसेको मन्त्रालयले जनाएको छ । प्रदेश भरी ९ सय ९० आइसोलेसन बेड तयार छ । जसमा ६९ जना मात्रै आइसोलेसनमा बसेका छन् । यसैगरी बागमती प्रदेशमा हालसम्म १३ हजार जनाको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)बाट कोरोना परीक्षण गरिएको छ । बागमती प्रदेशका १३ वटै जिल्लामा गरी १३ हजार १ सय ९७ जनामा आरडीटी परीक्षण गरिएको हो ।

जसमध्ये १ सय १३ जनालाई आरडीटीबाट पोजेटिभ देखिएको छ । आरडीटीबाट परीक्षण गर्दा सिन्धुलीका २० जना र काभ्रेका ७ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
विशेष गरी कोरोनाको शंकास्पद व्यक्तिहरु र विदेशबाट फर्किएकाहरुलाई लक्षित गरी आरडीटी परीक्षण गरिएको छ । अन्य प्रदेशमा जस्तै बागमती प्रदेशमा पनि आरडीटी र पीसीआर परीक्षणमा तीव्रता दिइएको प्रदेशको सामाजिक विकास मन्त्रालयको दावी छ । मन्त्रालयले स्थापना गरेको हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको कोरोना परीक्षण प्रयोगशालामा आरडिटी र पीसीआरबाट कोरोना परीक्षण गरिँदै आएको छ ।

काठमाडौंमा ४ हजार ७ सय ३६, भक्तपुरमा ९ सय ५९, ललितपुरमा १ हजार १ सय २, रसुवामा १ सय १६, नुवाकोटमा ५ सय ७५, धादिङमा ८ सय ९६, चितवनमा ९ सय ८९, सिंधुलीमा ७ सय ७५, रामेछापमा ३ सय २४, दोलखामा ४ सय १३, काभ्रेमा ८ सय ४९, मकवानपुरमा ७ सय ७५ र सिन्धुपाल्चोकमा ६ सय ८६ जनामा आरडीटी परीक्षण गरिएको छ ।

हेटौंडाको प्रयोगशालामा मकवानपुरसहित चितवन, बारा, पर्सा, रौतहटलगायतका स्थानबाट स्वाब संकलन गरी कोरोना परीक्षण गरिँदै आएको छ । मकवानपुरका १ उपमहानगरपालिका, १ नगरपालिका र ८ गाउँपालिकामा गरी ७ सय ७७ जनाको आरडीटी परीक्षण गरिएको छ । जसमध्ये ५ जनामा पोजेटिभ देखिए पनि पीसीआरबाट परीक्षण गर्दा रिपोर्ट नेगेटीभ रिपोर्ट आएको मन्त्रालयले जनाएको छ ।

थाहाका संक्रमित बालकको परिवारलाई कारोना नेगेटिभ मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका कोरोना संक्रमित ७ वर्षीय बालकको परिवार र आफन्तका सदस्यमा कोरोना नेगेटिभ देखिएको छ । हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बालकको घर र मामाघरका सदस्यको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंमा परीक्षण गराउँदा बालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

संक्रमित बालकका परिवार र गैरीगाउँमा रहेका मामाघरका परिवारका ११ जनालाई हेटौंडास्थित आइसोलेसन वार्डमा राखेर स्वाब परीक्षण गरिएको थियो । उनीहरुलाई स्वाब परीक्षणका लागि आइतबार बिहान हेटौंडा ल्याइएको थियो । ‘बालकको परिवार आफन्तको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।’–सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा महाशाखाका प्रमुख डा. पुरुषोत्तम सेढाईंले भने । बालकमा
कोरोना पुष्टि भएपछि थाहा नग पालिकामा उच्च सतर्कता अपनाइएको छ ।