हेटौंडा जुनसुकै मितिमा नियुक्त भएको भएता पनि राहत शिक्षकलाई नै कनिष्ट मान्ने गरी मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्न लागिएको भन्दै नेपाल राहत शिक्षक समिति मकवानपुरले ध्यानाकर्षण गराएको छ । आइतबार राहत शिक्षक समिति मकवानपुरले गढी गाउँपालिकाका शिक्षा समितिका संयोजक जितबहादुर घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै राहत शिक्षकमाथि विभेद हुने गरी गर्न लागिएको दरबन्दी मिलानको कार्य तत्काल रोक्न माग गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट मिति २०७६ माघ १२ गते स्वीकृत गरेको शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधिलाई नेपाल राहत शिक्षक केन्द्रीय समिति र नेपाल शिक्षक महासंघको असहमति र सरोकारवालाबीचको छलफलकै क्रममा रहेको बेला मकवानपुरगढी गाउँपालिकाले भने सोही कार्यविधिलाई आधार मानी शिक्षक दरबन्दी मिलान गर्न लागिएपछिराहत शिक्षक समितिले आपत्ति जनाएको हो । राहत शिक्षक समिति मकवानपुरका अध्यक्ष हरिप्रसाद पौड्याल, सचिव विशाल अधिकारी, सहसचिव जीवन तिमल्सिना र राहत शिक्षक समिति मकवानपुर गढी गाउँपालिका अध्यक्ष राजुप्रसाद गौतमसमेतको उपस्थितिमा गाउँपालिकाको शिक्षा समितिलाई बुझाइएको ज्ञापनपत्रमा स्थानीय तहले सरोकारवालाको उपस्थितिमा बनाएको दरबन्दी मिलानमा मात्र समर्थन रहने जनाइएको छ । विनियमका आधारमा पालिकास्तरमा दरबन्दी मिलान गर्ने कार्य अन्य पालिकामा समेत व्यवहारिक अभ्यास भइरहेकोसमेत स्मरण गराइएको छ ।
‘हाल देशका सम्पूर्ण शैक्षिक गतिविधि बन्द प्रायः रहेको अवस्थामा तत्काल दरबन्दी मिलान नगरी नहुने अवस्था समेत नभएको हुँदा सम्पूर्ण शिक्षकहरुको नियुक्ति मितिलाई आधार मानी दरबन्दी मिलान गर्ने कुराको सुनिश्चितता नभए सम्म तत्कालका लागि दरबन्दी मिलान सम्बन्धी कार्य स्थगित गर्न जोडदार माग गर्दछ ।’ ज्ञापनपत्रमा भनिएको छ–‘महामारीको विषम परिस्थितिमा कारण जीवन नै अनिश्चित भइरहेका बेलामा राहत शिक्षकमाथि अन्याय हुने गरी गरिने कुनै पनि किसिमको दरबन्दी मिलान हामीलाई कदापी स्वीकार्य हुने छैन ।’ आफूहरुको मागलाई गाउँपालिकाले गम्भीरताका साथ नलिई एकतर्फी रुपमा निर्णय गरिए कडा आन्दोलन गर्ने र त्यसको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने चेतावनीसमेत दिइएको छ ।