हेटौंडा/ हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुमध्ये अहिलेसम्म ८० प्रतिशतमात्र सञ्चालनमा रहेका छन् ।
सरकारले लकडाउन खुकुलो बनाएर उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेपछि गत चैत ११ गतेदेखि बन्द हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु अझै पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैन । औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमध्ये करिब २० प्रतिशत उद्योगहरु अझै पूर्ण रुपमा बन्द छन् भने सञ्चालनमा आएका उद्योगहरु पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् ।
लकडाउनअघि चैत १० गतेसम्म हेटौंडा औद्योगिक क्षेत्रभित्र एक सय १६ वटा उद्योगहरु सञ्चालनमा थिए । लकडाउन सुरु भएसँगै उद्योगहरु लामो समय बन्द भएका थिए । लकडाउनकै बीचमा अत्यावश्यक दुई दर्जनभन्दा बढी उद्योगहरुलाई सञ्चालन अनुमति दिइएको थियो । जेठ अन्तिम साता लकडाउन खुकुलो भएपछि उद्योगहरु सञ्चालनमा आउन थाले पनि मजदुर अभाव, कच्चा पदार्थ अभाव अनि बजारबाट सामानको माग नआएका कारण उद्योगहरु प्रभावित भएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले जानकारी दिए ।
‘बजारबाट सामानको माग नै नभएपछि धेरै उद्योगहरुले उत्पादन नै थालेका छैनन् । सञ्चालनमा आएका उद्योगहरुले पनि पूर्ण रुपमा सामान उत्पादन गर्न सकेका छैनन् । मागको कमी र मजदुर अभाव नै मुख्य समस्या हो ।’ कँडेलले भने । हेटौंडा औद्योगिक क्षेत्रमा काम गर्ने अधिकांश मजदुरहरु कोरोना प्रभावित जिल्लाको भएको भन्दै कँडेलले ति जिल्लाबाट मजदुर आउन नसकेका कारण समस्या भएको बताए ।
औद्योगिक क्षेत्रमा कोरोना प्रभावित जिल्लाका मजदुर धेरै भएको भन्दै उनले ती मजदुरहरु भागेर आएर उद्योगमा काममा छिर्नसक्ने भन्दै निगरानी पनि बढाइएको उनले बताए । कोरोना प्रभावित जिल्लाबाट मजदुर ल्याउनुपरे अनिवार्य रुपमा पिसिआर परीक्षण गर्नुपर्ने र उनीहरुलाई यहाँ ल्याएपछि पनि उद्योगभित्रै बसेर काम गर्ने वातावरण तयार गर्न सबैलाई सर्कुलर जारी गरिएको क्षेत्र व्यवस्थापक कँडेलले बताए । उद्योगमा बाहिरबाट मजदुर ल्याउनुपरे औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सिफारिस अनिवार्य हुनुपर्ने र ती मजदुरको पिसिआर रिपोर्टपछि मात्रै पासको व्यवस्था गरी उद्योगसम्म ल्याइने गरिएको जनाइएको छ । गतचैत ११ गतेदेखि मुलुक लकडाउन भएयता बन्द रहेका हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु करिब दुइसातापछि आंशिक रुपमा खुलेका थिए ।