अहिले नेपालमात्र नभई विश्व नै कोरोना÷कोभिड–१९ ले आक्रान्त बनेको छ । विश्वका २ सय १३ देश यस महामारीबाट प्रभावित भएका छन् । कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसबाट हुने बिरामी र मृत्युदर कम गर्न प्रायः सबैजसो देशहरुले लकडाउनसहित आर्थिक, सामाजिक क्रियाकलापमा नियन्त्रण
गरिरहेका छन् । यति हुँदाहुँदै पनि कोरोना भाइरस संक्रमण कतिपय देशमा नियन्त्रणबाहिर गएको छ । नेपालमा पनि ८० दिनभन्दा लामो देशव्यापी लकडाउनपछि असार १ गतेबाट लकडाउन केही खुकुलो बनाइएको भए पनि कोरोना संक्रमण भने दिनदिनै बढिरहेको छ । कोरोना भाइरस संक्रमणको त्राससँगै यस वर्षको मनसुन सक्रिय भइसकेको छ । नेपालमा गृष्मकालीन मनसुनको सक्रियतासँगै वर्षायाम सुरु भई बाढी, पहिरो, डुबान, कटानजस्ता प्राकृतिक प्रकोपले ठूलो विपद निम्त्याउने सम्भावनालाई पनि ध्यान दिनु आवश्यक छ ।
नेपालमा जुन १० तारिखदेखि मनसुन सुरु हुने गर्दछ । बंगालको खाडीबाट उठ्ने मनसुनी वायुले नेपालमा गृष्मकालीन वर्षा गराउँदछ । गृष्मकालीन मनसुन नेपालको पूर्वी क्षेत्रबाट पश्चिमतिर सर्दै जाँदा पर्याप्त वर्षा हुने गर्दछ । नेपालमा असार–साउन महिनालाई मध्य मनसुन वा वर्षात् मानिन्छ । यस वर्ष वर्षायाम सुरु भइसकेको छ । मनसुन सक्रिय भइसकेको हुँदा दिनदिनै पानी पर्ने क्रम
बढिरहेको छ । नेपाल पहाडी मुलुक भएको हुँदा यहाँ वर्षासँगै विपद् सुरु हुन्छ । गत शनिबार रातिमात्र पर्वतको कुस्मा नगरपापिलका–३, दुर्लुङको ढकालबारीमा पहिरो जाँदा पुरिएर ९ जनाको ज्यान गएको छ । वर्षेनि देशको सबैजसो भागमा बाढी, पहिरो, डुबान तथा कटानले ठूलो हानि नोक्सानी पु¥याउने गर्दछ । यसले जनमानसमा ठूलो विपद् ल्याउँदै जनधनको क्षति गराउँदछ । वर्षासँगै आउने विपद् र यसबाट बच्ने उपाय समयमै प्रभावकारीरुपमा अपनाउन नसक्दा हुने जनधनको व्यापक क्षतिलाई टार्न सकिएको पाइँदैन । नेपालको भौगोलिक अवस्था, अव्यवस्थित विकास निर्माण, जथाभावी जमिन उत्खनन, वनजंगलको विनाश आदि कारणले जमिन कमजोर
बनिरहेको छ । बर्षायाममा लगातार वर्षा हुँदा पहाडी क्षेत्रको कमजोर जमिनको भाग भासिएर वा बगेर पहिरो जाने, खोला नदीमा बाढी आई जमिन कटान गर्ने र तराई क्षेत्रमा जलसतह वृद्धि भई डुबानमा पार्ने हुँदा विविध किसिमको विपद निम्त्याउने गर्दछ ।
यस वर्ष सबै तहका सरकारको ध्यान कोरोना÷कोभिड–१९ को संक्रमण न्यूनीकरण र कोभिड विरामीको व्यवस्थापनमा केन्द्रित भएको हुँदा वर्षाले निम्त्याउने प्रकोपसँगैको विपद व्यवस्थापन कम प्राथमिकतामा पर्ने निश्चित छ । तीन महिनाभित्र कोरोनाले नेपालमा करिब २ दर्जन व्यक्तिको मृत्यु भए पनि बाढी, पहिरो र डुबानले असार र साउन दुई महिनामा वर्षेनि सयौं मानिसको मृत्यु हुने भएकाले यसतर्फ पनि सबै तहको सरकारको ध्यान जानु आवश्यक छ । कोभिड महामारीसँगै मनसुनी प्रकोपको पूर्वजानकारी दिँदै त्यसले निम्त्याउने विपद व्यवस्थापनको प्रभावकारी पूर्वतयारीबाट नै क्षति न्यूनीकरण गर्न सकिनेतर्फ सम्बद्ध पक्ष गम्भीर बन्नुपर्छ ।