नायक सुशान्त सिंह राजपुतको निधनपछि मिडिया र दर्शकको शैली देखेर नायिका कृति सेनन रिसाएकी छन् । उनले, सामाजिक संजाल इन्स्टाग्राममा लामो पोष्ट लेख्दै मनको कुरा शेयर गरेकी छिन् ।
कृतिले लेखेकी छिन्–‘यो अचम्मको कुरा हो कि ट्रोल र गसिपमा रमाउनेहरु अहिले जुरमुराएका छन् र कसैको राम्रो कुरा गर्न थालेका छन् जो यो दुनियाँमा नै छैन । सामाजिक संजाल झुटो र बिषालु स्थान हो । यदि, तपाई आफूले कसैको निधनमा केही लेख्नुभएन भने मानिसहरु सोच्छन् कि उसको निधनमा तपाई दुखी हुनुहुन्न ।’
कृतिले सामाजिक संजाल नै वास्तविक दुनियाँ भएको र वास्तविक दुनियाँलाई मानिसहरुले फेक संझिन थालेको बताएकी छिन् । कृतिले केही मिडियाकर्मीहरुमाथि पनि प्रश्न उठाएकी छिन् । उनी लेख्छिन्–‘यस्तो समयमा केही मिडियाकर्मीहरु प्रतिक्रियाको अपेक्षा गर्छन् र लाइभ कुराकानीको लागि आग्रह गर्छन् । कसैको अन्तिम संकारमा पुग्दा कारको ढोका खोलेर तस्बीर क्लिक गर्नका लागि अपिल गर्छन् । म भन्न चाहन्छु कि अन्तिम संकार व्यक्तिगत हुन्छ । यस्तो स्थानमा तपाइहरु नआउनुहोस् र आउनुभयो भने पनि गरिमा बनाउनुहोस्।’
कृतिले यस्तो समयमा रुँदा मानिसहरुले कमजोरी संझिने गरेको बताउँदै लेखेकी छिन्–‘रुनु, कमजोरी होइन । तपाइलाइ रुन आउँछ भने रुनुहोस्, कराउन मन लाग्छ भने कराउनुहोस् । तपाई आफ्नो समय लिनुहोस् र हरेक कुरालाई ठिक ठाउँमा ल्याउनेतर्फ सोच्नुहोस् ।’