हेटौंडा, / मकवानपुरका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई घटकले जस्तोसुकै परिस्थितिमा पनि पार्टी नफुटाउने कसम खाँदै एकता गरेका छन् ।
कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तको मकवानपुर जिल्ला कमिटीबीच सोमबार हेटौंडामा एकताको सहमति भएको छ ।

गत २८ फागुनमा काठमाडौंमा राप्रपाको दुई घटकबीचको एकतापछि जिल्ला कार्य समिति र स्थानीय तहहरुको समायोजन प्रक्रिया प्रारम्भ भएको थियो ।
राप्रपाका अध्यक्ष कमल थापाले पनि पार्टी एकता घोषणा सभामा भागवत गीतालाई कसम खाँदै पार्टी नफुटाउने बताएका थिए ।

थापाकै शैलीमा मकवानपुरको पार्टी एकतापछि बोल्दै पार्टी जिल्ला उपाध्यक्ष ज्ञानु ढुंगेलले पनि भगवान सीताको कसम खाँदै पार्टी नफुटाउने वाचा गरेका छन् । ‘पार्टी नेतृत्व गर्ने नेताहरुकै कारण हामी फुटेका हौं । सीताको सकम खाएर भन्छु अब पार्टी फुटाउँदैनौं ।’, ढुंगेलले भनेका छन् ।

पार्टी केन्द्रीय कमिटी एकता भएको ३ महिनापछि देशमै पहिलो पटक मकवानपुरमा एकता घोषणा भएको एकतापछिको राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीले जानकारी दिए । सोमबार हेटौंडामा भएको एकता सहमतीमा राप्रपा र तत्कालिन राप्रपा संयुक्तबीचमा अध्यक्षलगायत सबै जिल्ला कमिटी र स्थानीय तहहरुको समायोजन गर्ने निर्णय भएको छ ।

एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको अध्यक्षमा मधु अधिकारी नै कायम रहने गरी पार्टी उपाध्यक्षमा तत्कालिन राप्रपा संयुक्तका ज्ञानु ढुंगेलसहित सबै कार्य समितिलाई समायोजन गर्ने निर्णय गरिएको छ । कोरोना माहामारी सकिएपछि जिल्ला अधिवेशन गरिने राप्रपाका वरिष्ठ जिल्ला सदस्य सीताराम बर्तौलाले जानकारी दिए ।देशमा कोरोना महामारीले गर्दा पार्टी एकता भएको लामो समयपछि जिल्ला कमिटीको समायोजन गरिएको राप्रपाका केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए । कार्यक्रममा राप्रपाका निवर्तमान केन्द्रीय सदस्य रामहरि न्यौपाने, राप्रपा हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोेटाका आतिथ्यता थियो ।

काठमाडौंमा थापा, जबरा र लोहनी तीनै जना अध्यक्ष रहनेगरी एकता भएको थियो । पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नै रहने निर्णय भएको थियो । राजसंस्थाको छायामा १५ जेठ २०४७ मा दुईवटा राप्रपा स्थापना भएका थिए। स्थापनाको एक वर्षमै दुवै पार्टीबीच एकता भयो। तर, समय क्रमसँगै यो पार्टी पुनः विभाजन भएको थियो ।