हेटौंडा/ हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले आगामी वर्षका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् । जुन चालु आर्थिक वर्षकोभन्दा करिब २७ करोड ४८ लाख रुपैयाँ बढी हो ।

बागमती प्रदेशको एकमात्र उपमहानगरको रुपमा रहेको हेटौंडाले सडकलाई विशेष प्राथमिकता दिँदै भौतिक पूर्वाधारतर्फ ९७ करोड ९८ लाख ३९ हजार रुपैया विनियोजन गरेको छ ।
सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ चारकरोड ७१ लाख १९ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ २३ करोड १४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपमहानगरले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । राजस्व बाँडफाँडबाट ५५ करोड तीनलाख, प्रदेश सरकारबाट विभिन्न अनुदान आठ करोड ३५ लाख ९८ हजार, संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र राजस्व बचतबाट २६ करोड १३ लाख आम्दानी हुने लक्ष्य लिएको छ।

उपमेयर लामाका अनुसार एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १४ करोड रुपैयाँ, वस्ती तथा
वडास्तरीय आयोजनाका लागि ३२ करोड ७० लाख, वृहत्तर चक्रपथ निर्माण कार्यका लागि दुईकरोड रुपैयाँ विनियोजन गरेको छ । कृषि प्रवद्र्धनका लागि २ करोड ९६ लाख, खेलकुद प्रशिक्षण केन्द्र निर्माणका लागि दुईकरोड ५० लाख, कभर्ड हल निर्माण सम्पन्न गर्न एकरोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि कोष व्यवस्थापन गर्न दुईकरोड ५० लाख रुपैयाँ उपमहानगरले विनियोजन गरेको छ । यसैगरी उपमहानगरभित्र स्थायी बसोबास गर्ने नगरबासीको कोभिड १९ को संक्रमणका कारण मृत्युभएमा राहतस्वरुप उपचार कोषबाट तीनलाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने बजेटमा उल्लेख गरिएको छ ।

‘तीन तहको सरकारबीच समन्वय नहुँदा समस्या’

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिंहदरबारको मानसिकतामा नै परिवर्तन आउन नसकेको बताएका छन् । बुधबार हेटौंडा उपमहानगरपालिकाको सातौं नगरसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले नेपालमा राजनीतिक रुपमा धेरै परिवर्तन आएपनि सोचमा परिवर्तन नै नआएको टिप्पणी गरे ।
‘हाम्रो काम गर्ने मानसिकता र कार्यशैलीमा नै परिवर्तन आएको छैन,’ उनले भने,‘धेरै राजनीतिक परिवर्तनहरु हामीले भोग्दै देख्दै आएपनि मानसिकतामा परिवर्तन नआउँदा समस्या भएको छ । सिंहदरबारदेखि नै मानसिकतामा परिवर्तन आउन जरुरी छ ।’ उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय नहुँदा काम प्रभावकारी हुन नसकेको भन्दै काम गर्ने शैली र मानसिकतामा परिवर्तन आउन जरुरी रहेको औंल्याए ।
कोरोना भाइरसका कारण सबै विषयहरु अस्तव्यस्त बनेको भन्दै उनले प्राथमिकतामा पनि परिवर्तंन आएको बताए ।

‘हाम्रो यस अघि प्राथमिकता भौतिक पूर्वाधारमा केन्द्रित हुन्थ्यो,’ उनले भने,‘अबको प्राथमिकता स्वास्थ्य, उत्पादनको क्षेत्र, रोजगार तर्फ केन्द्रित भएको छ ।’ नीति तथा कार्यक्रम सबै राम्रो भएको टिप्पणी गर्दै उनले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
सञ्चारकर्मी सम्मानित

हेटौंडा उपमहानगरपालिकाले नगरसभामा मकवानपुरका अग्रज पत्रकारसहित सातजना पत्रकारलाई सम्मान गरेको छ अग्रज पत्रकार नवराज शर्मालाई नगद १७ हजार रुपैयाँसहित सम्मान गरेको छ । यस्तै रेडियो निकासका सम्पादक सुरेश श्रेष्ठसहित पत्रकारहरु कान्तिपुर दैनिकका सुवास विडारी, द हिमालयन टाइम्सका प्रकाश दाहाल, नयाँ पत्रिका दैनिकका सुदीप सिवाकोटी, हेटौंडा एफएमका कृष्णउदास खनाल र सही खबर साप्ताहिककी सरिता दाहाललाई जनही नगद १३ हजार ५ सयसहित विकास पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।अग्रज पत्रकार नवराज शर्मालाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए भने अन्य पत्रकारलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र उपमेयर मीनाकुमारी लामाले पुरस्कृत गरेका थिए ।