हेटौंडा/कोरोना भाइरसको संक्रमणको त्राससँगै गरिएको लकडाउनका कारण बैंक र उद्योगी व्यवसायीबीच बढेको समस्याका बारेमा शुक्रबार छलफल गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघ र बैंकर्स एशोसिएसनका पदाधिकारी र सदस्यबीच भएको छलफलमा पछिल्लो समय उत्पन्न समस्याको समाधान गर्दै जाने सहमति भएको छ । छलफलमा बोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले लकडाउनका कारण उद्योग व्यवसायमा ठूलो समस्या उत्पन्न भएको अवस्थामा बैंकको किस्ता तिर्नका लागि दबाब आएको भन्दै आपत्ति जनाए ।

कको ऋणकै कारण आत्महत्याको घटनासमेत हुन थालेकाले बैंकहरुले पनि किस्ता र ब्याज उठाउनेबारे लचकता अपनाउनुपर्ने उनको भनाइ थियो । बैंकले लकडाउनको समयमा पनि ब्याजदर बढाउने, व्यवसायीको स्वीकृति बेगर ऋण थपिदिने जस्ता काम गरेको गुनासो आएको भन्दै त्यसो नगर्न कटुवालले आग्रह गरे । ब्याज छुट, थपकर्जा, पुनकर्जा जस्ता बिषयमा प्रष्ट सूचना निकाल्नुपर्नेमा पनि बैंकको ध्यानकर्षण गराए ।

पुरानो नारायणी यातायात कम्पनी प्रालिका अध्यक्ष हिरालाल श्रेष्ठले शर्तबन्ध तरिकाले बैंकको ब्याज घटे पनि सामान्य अवस्थामा ब्याजदर बढेको गुनासो गरे । नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका कार्यकारी निर्देशक माधव अधिकारीले पनि बैंकको ब्याजदर बढेको प्रति ध्यानाकर्षण गराए । उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष स्वागतराज प्याकुरेलले बैंकहरुले आफ्नो बित्तीय अवस्थाअनुसार राष्ट्र बैंकको २ प्रतिशत छुटमा थप छुट सुविधा उपलब्ध गराउन आग्रह गरे । पुरानो नारायणी यातायात कम्पनी प्रालिका महासचिव सरोज कुमार खनालले एशोसिएसनमार्फत मौद्रिक नीतिमा सुझाव स्वरुप लैजानका लागि माथिल्लो तहमा पनि जानकारी गराउन आग्रह गरे ।