हेटौंडा/मकवानपुरको राक्सिराङ गाउँपालिका–८ की एक जोडीको बाल बिवाह रद्द गरिएको छ । एक आपसमा मन पराएर असार ९ गते भागी बिहे गरेका राक्सिराङ–८ पाम्बुङका १८ वर्षीय बालक र सोही वडाको टोड्के निवासी १७ वर्षीया बालिकाले भागी बिहे गरेका थिए ।
बाल बिवाह भएको जानकारी पाएपछि राक्सिराङ–८ का वडा अध्यक्ष रामकृष्ण प्रजाले बालबालिकाका दुवै पक्षका बाबुआमालाई बोलाएर सम्झाई बुझाई गरेपछि उनीहरु बिहे रद्द गर्न राजी भएका हुन् । ‘उमेरै नपुगी भागी बिहे गर्दा कानुन लाग्छ र सजायसमेत हुने र बाल बिवाहबाट पर्ने नकारात्मक प्रभावको बारेमा दुवै पक्षलाई जानकारी गराएपछि उनीहरु आ–आफ्नो छोरा छोरी घर फर्काउन राजी भए ।’ वडाध्यक्ष प्रजाले भने ।
वडा कार्यालयमा शुक्रबार दुवै पक्षका अभिभावक र बिहे गर्ने केटाकेटीका साथ टोल विकास संस्थाका अध्यक्ष मानबहादुर मोक्तान, वडा सदस्य राजु चेपाङ, जयबहादुर तितुङलगायतको सहभागितामा छलफल भएको थियो । भागी बिहे गरेका दुई बालबालिकामध्ये बालक कक्षा ७ र बालिका कक्षा ६ मा अध्ययनरतछन् । उनीहरुले आ–आफ्नो घरमा फर्किएर पढाईलाई निरन्तरता दिने उमेर पुगेपछि मात्र बिहे गर्न राजी भएको वडाध्यक्ष प्रजाले बताए । बालिकाकी दिदीको बिहे बालकको गाउँ पाम्बुङमा हेको र दिदीको घर जाँदा उनीहरुबीच चिनजान हुँदै प्रेम बसेको र भागी बिहे गरेको पाइएको जनाइएको छ ।
सिमान्तकृत चेपाङ र तामाङ समुदायको बसोबास रहेको गाउँपालिकामा बालबिवाह गर्ने क्रम रोकिएको छैन । जनप्रतिनिधि तथा सरोकारवाला संघ संस्थाले बाल बिवाह रोक्न अभियानहरु पनि सञ्चालन गरिरहेका छन् ।