हेटौंडा/अमेरिकी सहयोग निकाय (एमसीसी) परियोजना स्वीकृत गर्न नहुने भन्दै हेटौंडामा त्यसको विरोध जनाइएको छ । देशका विभिन्न सहरमा एमसीसीविरुद्ध प्रदर्शन भइरहेका बेला शनिबार हाम्रो नेपाल हामी नेपाली अभियानले हेटौंडाको वुद्धचोकमा प्लेकार्ड र ब्यानर बोकेर शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
देशव्यापी कार्यक्रम अन्तर्गत हेटौंडामा पनि विरोधको कार्यक्रम राखिएको अभियान मकवानपुरका संयोजक सुन्दर शाहीले जानकारी दिए । विरोधमा सहभागीले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘एमसीसी खारेज गर’, ‘नेताजति गाडीमा, युवाजति खाडीमा’, ‘युवालाई देश चलाउन दे, खाडीमा साबेल होइन’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
कार्यक्रममा अभियानका सल्लाहकार महेश मगर र सागर थापा, संयोजक सुन्दर शाही, नगर अध्यक्ष रमेश चौलागाईलगायतको सहभागिता रहेको थियो । सल्लाहकार महेश मगर र गोपी विकले एमसीसीको विरोध गर्नुपर्ने कारणहरुको बारेमा मन्तव्य राखेका थिए । एमसीसीले नेपालको ठूलो अहित हुने भन्दै यो परियोजना अस्वीकृत गर्नुपर्ने उनीहरुले बताएका थिए ।