प्रशोधन र ब्रान्डिङ गरी बजार पठाउन तयार पारिएको मह ।

हेटौंडा/मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका विपन्न चेपाङ र तामाङ समुदायले अहिले गाउँमै मौरीपालनबाट मनग्य आम्दानी गरिरहेका छन् । करिब ७ वर्षअघिदेखि व्यवसायिक मौरी पाल्न थालेका राक्सिराङ–६ नम्बर वडाका मौरीपालकहरुले मह बेचेर वर्षमा करिब डेढदेखि २ करोड रुपैयाँ गाउँमा भिœयाउने गरेका छन् ।
राक्सिराङ–६ का सिलिङ्गे, चापल, कराँची, सिमर गाउँ, बुद्धराङ, धुसाराङ, मार्गिनी टोलका करिब सय घर परिवारले अहिले व्यवसायिक रुपमामौरी पालन गरिरहेका छन् । सिलिङ्गे क्षेत्रमा प्रसस्त रुपमा पाइने
चिउरीको फूलमा मौरी चराएर अग्र्यानिक मह उत्पादन गर्ने किसानहरुले उत्पादनको माग निकै रहेको छ । बाहिरी जिल्लाबाट मौरी चराउन ल्याउनेहरुसँग मौरीपालन सिकेपछि मकवानपुरका विकट गाउँका चेपाङ तथा तामाङ समुदायले आफैंले मौरी पाल्न थालेका थिए । काँकडास्थित सिलिङ्गेमा चिउरी फूल्ने सिजनमा मकवानपुर र चितवनदेखिका मौरीपालक मौरी चराउन पुग्थे । चिउरीको फूलमा चराएको मौरीको मह निकै लाभदायक र उत्पादन पनि बढ्ने भएकाले किसानहरु त्यस चिउरी वनमा मौरी चराउन पुग्थे । बाहिरबाट चराउन ल्याइएको मौरीलाई चराएर ज्याला लिँदै आएका राक्सिराङ विपन्न चेपाङ र तामाङ समुदायले आफैंले मौरीपालन सिके र गाउँमै लाखौं आम्दानी गर्न थाले ।
अहिले सो क्षेत्रमा करिब सय परिवारले प्रति परिवार ३० देखि ३ सय घारसम्म मौरी पालेको राक्सिराङ–६ स्थित जनचेतना साना किसान कृषि सहकारी संस्था अध्यक्ष दिनेश चेपाङले बताए । ‘मौरीको महलाई बजारीकरण गर्न सहकारी मार्फत हामीले सघाइरहेका छौं । एक सय घार मौरी पाल्ने किसानले एक वर्षमा ८ लाख रुपैयाँसम्म कमाउँछ ।’ अध्यक्ष चेपाङले भने–‘यस क्षेत्रमा यस वर्ष करिब ५० टन मह उत्पादन भयो । यस हिसाबले झण्डै डेढ करोड रुपैयाँ किसानले कमाए ।’
गाउँमै पालिएको मौरीलाई चरण अभाव हुन थालेपछि गाउँका किसानहरुले बाहिरबाट मौरी चराउन ल्याउन रोकसमेत लगाएका छन् । पर्यटक मौरीलाई निषेध गरेपछि त्यस क्षेत्रमा मौरीको मह उत्पादनसमेत बढ्दै गएको छ । स्थानीय सामुदायिक वनले स्थानीयलाई मात्र मौरी चराउन दिने निर्णय गरेपछि बाहिरबाट ल्याएको मौरी चराएर ज्याला लिनेहरुको आम्दानी भने गुमेको राक्सिराङ–६ का वडाध्यक्ष सिंगलाल प्रजाले बताए । मौरी चराएबापत दुई वर्षअघिसम्म स्थानीयले वर्षमा करिब दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेकोमा अहिले त्यो गुमेको उनले सुनाए ।
४ वर्षअघि एक गैरसरकारी संस्थाको सहयोगमा गाउँमै प्रशोधन मेसिनसमेत राखिएको छ । सो मेसिनले दैनिक २ टनसम्म मह प्रशोधन गर्न सक्ने तर, मेसिनको क्षमताअनुसार मह उत्पादन नहुने गरेको सहकारीका अध्यक्ष चेपाङ बताउँछन् । मौरी किसानहरुको लागि मुख्यगरी मंसिरदेखि फागुनसम्म मुख्य सिजन हो । त्यो सिजनमा फुलेको चिउरीमा चराएर अग्र्यानिक मह उत्पादन गर्ने गरिन्छ । किसानले उत्पादन गरिएको प्रशोधन नगरेको मह प्रतिकिलो २ सय ५० देखि ३ सय रुपैयाँसम्ममा सहकारीले खरिद गर्छ ।
सहकारीले प्रशोधन एवम् ब्रान्डिङ गरी प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री गर्न बजार पठाउनेपर्छ । राक्सिराङको चिउरीको मह काठमाडौं, जापान, अष्ट्रेलियासमेत पुग्ने गरेको छ । मौरीपालक किसानहरुले अरु कसैलाई तलबी वा ज्यालादारीमा काममा राखेका छैनन् । उनीहरु आफैं मेहनत गर्छन् । मह काट्ने, मह बोक्ने, मौरी चराउनेलगायतका काम उनीहरु समूह÷समूहमा विभाजन भएर आलोपालो गर्ने
गरेका छन् ।
मौसम खराब हु“दा उत्पादन घट्यो
सिजनको समयमा मौसममा खराबी हुँदा राक्सिराङमा यस वर्ष महको उत्पादन घटेको छ । यस वर्षको कात्तिकदेखि फागुनसम्मको समयमा अत्याधिक वर्षा भएको र धेरै चिसो पनि बढेका कारण मह उत्पादनमा त्यसको असर परेको सहकारी संस्थाका अध्यक्ष चेपाङले बताए । उनका अनुसार गत वर्ष गाउँमा करिब ८० टन मह उत्पादन भएकोमा यस वर्ष करिब ५० टनमा झरेको छ । ‘चिउरीको मह निकै लाभदायक हुने र औषधिको रुपमा पनि प्रयोग हुने भएकाले माग बढिरहेको छ, तर, यस वर्ष उत्पादन भने घट्यो । यसले किसानलाई निराश बनाएको छ ।’ अध्यक्ष चेपाङले भने ।