हेटौंडा/मुठी खाएर मुरी उब्जाउने महिनाको रुपमा लिइने असार महिनाको मध्ये समय अर्थात असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । आज १७ औं राष्ट्रिय धान दिवस मनाइँदैछ । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण उब्जिएको समस्यालाई पूर्ति गर्न उत्पादनमा जोड दिने रणनीति अपनाइरहेको बेला धानको उत्पादन र बजारीकरणले पनि महत्वपूर्ण अर्थ राख्छ ।
यस दिनलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई चिनिने गरिन्छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गर्दै २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णयले विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । विश्वभर नै मुख्य खानाको रुपमा रहने चामल धानबाटै उत्पादन हुन्छ । मौसमका आधारमा चैते, बर्खे, भदैया, घैया, हिउँदे धानको खेती हुन्छ । नेपालमा मनाङ र मुस्ताङबाहेकका जिल्लामा धान खेती हुने गर्छ । तराई, मध्य पहाड र उच्च पहाडमा नेपाल कृषि अनुसन्धान परिषद्ले विकास गरेको ६३ जातका धानको खेती गरिन्छ ।
धान दिवसका अवसरमा बागमती प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आज चितवनको माडीमा रोपाईं महोत्सवको आयोजना गर्ने जनाइएको छ । कोरोनाको त्रासका कारण धेरै स्थानीय तहहरुले रोपाईं महोत्सवको आयोजना गरेका छैनन् । यसवर्ष चाँडै नै मनसुन सुरु भएर रोपाईं गर्न पाइएकोमा किसानहरु हर्षित छन् । तर, भारत हुँदै नेपाल प्रवेश गरेको सलह किराको प्रकोप सुरु भइसकेकाले धानी बाली नष्ट हुनेतर्फ उनीहरु चिन्तित पनि छन् ।
आज असार १५ गते नेपालमा दही चिउरा खाने गरिन्छ । नेपालीहरुले यसलाई चाडकै रुपमा दही चिउरा खाएर मनाउने गरेका छन् । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दहीच्यूरा खान्छन् । यसबेला दहीच्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।