हेटौंडा, / मकवानपुरमा फैलिएको सलहले बालीको पात र फल खाँदै बाली नाश गर्न थालेको छ । तराईका जिल्ला हुँदै मकवानपुर प्रवेश गरेको सलह मकवानपुरगढी, बकैया, मनहरी र बागमती गाउँपालिकामा देखिएको छ ।
मकवानपुरगढीको करिब १ हजार रोपनी क्षेत्रफलमा सलह फैलिएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार मकवानपुरगढीको ७ नं. वडास्थित करिब १ हजार रोपनीमा लगाएको मकै बालीमा सलहले क्षति पु¥याएको छ । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईका अनुसार ७ नं. वडाको बतासेमा ठूलो संख्यामा सलह फैलिएको छ ।

‘बतासेमा करिब १ हजार क्षेत्रफलमा सलह फैलिएको छ । कृषि प्रविधिकहरुका अनुसार सलह ठूलो संख्यामा छ।’, अध्यक्ष हुमागाईंले भने । गाउँपालिकाले सलह नियन्त्रणको लागि कृषि प्रविधिकहरु परिचालन गर्दै विषादी छर्किएको छ । ‘सलह नियन्त्रण गर्न विषादी छर्किएको छ । स्थानीय कृषकहरुले पनि ढ्याङ्ग्रो, थाल टिन ठटाएर भगाउने कोशिस गरिरहेका छन् ।’, उनले भने ।
बतासेमा लगाइएको मकैबालीमा सलहले क्षति पु¥याएको अध्यक्ष हुमागाईंले जानकारी दिए । शनिवार मकवानपुरगढीको २, ३, ६, ७ र ८ नं. वडामा सलह देखिएको मन्त्रालयले जानकारी दिएको छ । कृषि विज्ञहरुका अनुसार पनि शनिबार पर्सा, बारा, सर्लाही र रुपन्देहीमा गरेर चार ठाउँमा प्रवेश गरेको सलहको झुन्ड मकवानपुर प्रवेश गरेको हो ।
बारामा देखिएको सलहको ठूलो झुन्ड टुक्रिएर काभ्रे र मकवानकपुर पुगेको प्रदेशका कृषि विज्ञहरुले जानकारी दिएका छन् । सोही झुन्ड टुक्रिएर मकवानपुरको मकवानपुरगढी, बकैया, बागमती र मनहरी गाउँपालिका र चितवन प्रवेश गरेको विज्ञहरुले बताए । मकवानपुरगढीमा ठूलो संख्यामा सलहको झुण्ड रहेको जनाइएको छ । यहाँका कृषकहरु खेतबारीमा निस्किएर थाल, टिन ठटाउँदै, धुलो छारो हाल्दै धँुवा उडाएर सलह भगाउन लागिपरेका छन् ।
मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया र बागमतीमा पनि सलह प्रवेश गरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । बकैया र बागमती गाउँपालिकाले पनि नियन्त्रणको लागि प्रयास गरिरहेको छ । बकैया र बागमती तराईको बारा, सर्लाहीसँग सीमाना जोडिएको गाउँपालिका हो । मनहरीको लोथरमा सलह देखिएको मन्त्रालयले जनाएको छ ।
उपत्यकाको दुईसहित प्रदेशको ७ जिल्लामा सलह फैलिएको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार काठमाडौं, चितवन, मकवानपुर, ललितपुर र काभ्रेमा ठूलो संख्यामा सलह प्रवेश गरेको हो । सिन्धुली हुँदै सलहको झुन्ड टुक्रिएर केही रामेछापतिर प्रवेश गरेको जनाइएको छ । तर, त्यहाँ सलहको संख्या भने न्यून रहेको छ ।
सलह नियन्त्रणको लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आइतबार आकस्मिक बैठक बोलााएर दिनभर छलफल गरेको छ । बैठकमा सलह नियन्त्रणको उपाय, प्राविधिक अध्ययनलगायतको विषयमा छलफल भएको मन्त्रालयका सूचना अधिकारीले अनुपले जानकारी दिए । मन्त्रालयले मन्त्री दावा दोर्जे लामाको संयोजकत्वमा प्रदेशस्तर, नगरपालिका, गाउँपालिका र जिल्लास्तरमा प्राविधिक टोली निर्माण गर्ने निर्णय गरेको छ । प्रविधिक टोलीले सलह नियन्त्रणको लागि अध्ययनलगायतका काम गर्ने सूचना अधिकारी अनुपले जानकारी दिए ।
बैठकमा सहभागी मन्त्री लामा, सचिव डा. योगेन्द्र कुमार कार्की, कृषि तथा वन विश्वविद्यालय चितवनका उपकुलपति डा. शारदा थपलिया, विश्वविद्यालयका किट विभाग प्रमुख डा. सुन्दर तिवारी, प्रधानमन्त्री कृषि, आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख मेघराज तिमल्सिना, कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकाल, कृषि विकाश निर्देशनालय, हेटौंडाका प्रमुख रविन्द्र बहादुर प्रधानलगायतले सलह नियन्त्रणको विषयमा छलफल गरेका छन् ।
मन्त्रालयले प्राविधिक अध्ययन टोली निर्माण गरेर आइतबारबाटै सम्बन्धित स्थानमा खटाउने तयारी गरेको छ । सलह नियन्त्रणको लागि थाल ठोक्ने, बाजा बजाउने, धुँवा उडाएर भगाउने तरिकाका बारेमा कृषकहरुलाई जनचेतना फैलाइने जनाएको छ ।
मन्त्रालयले प्रदेशका ७ जिल्लामा देखिएको सलहले पु¥याएको क्षतिको आंकलन गरिसकेको छैन् । ‘शनिवारमात्रै प्रदेशका ७ जिल्लामा सलह प्रवेश गरेको छ। क्षतिको बारेमा आंकलन गरिएको छैन् । नियन्त्रणमा प्रदेश अघि बढिसकेको छ ।’, मन्त्रालयका सूचना अधिकारीले भने । उनका अनुसार सलह नियन्त्रणको लागि मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ ।
कृषि विज्ञहरुका अनुसार नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको सलहका कारण भोकमरी समेत आउन सक्नेछ । हावाको दिशा अनुसार उड्ने सहललाई ठूलो आवाज बजाएर र धुवाँ पारेर उडाउन सकिने विज्ञहरुले बताएका छन्। रातको समय र चिसोमा उड्न नसक्ने सलह नियन्त्रणको लागि विशादीको विकल्प अन्तिम उपाय भएको बताइन्छ ।