हेटौंडा,/आफ्नै घरको बन्द कोठाभित्र मृत फेला परेकी २२ वर्षीया सुस्मिता केसी (थापा)को परिवारकै सदस्यबाट हत्या भएको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ ।
१३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले परिवारबाटै उनको हत्या भएको निष्कर्ष निकालेको हो । यद्यपी घटनाको विस्तृत जानकारी भने प्रहरीले दिएको छैन । आज सोमबार सुस्मिता हत्या आरोपित २ जनालाई प्रहरीले सार्वजनिक गर्दैछ । मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानाका अनुसार सुस्मिता हत्यामा उनकै ससुरा र नन्दको संलग्नता रहेको खुलेको छ ।
‘सुस्मिता हत्या आफ्नै परिवारबाट भएको अनुसन्धानबाट देखिएको छ । अनुसन्धानबाट सुस्मिताकै ससुरा र नन्दबाट हत्या भएको देखिन्छ ।’, डिएसपी रानाले भने– ‘ससुरा र नन्दलाई हिरासतमा लिएर अनुसन्धान गरेका थियौं । १३ दिन लामो अनुसन्धानले उनको हत्या नै भएको देखाएको छ ।’ २ असारमा हेटौंडा–४ कर्रा नजिक सूर्यचोकस्थित आफ्नै घरको बन्द भान्सा कोठाभित्र सुस्मिता मृत फेला परेकी थिइन् ।
सुस्मिताको हत्यामा संलग्नता देखिएको भन्दै प्रहरीले ५ असारमा ससुरा ५८ वर्षीय प्रकाश थापा र नन्द २३ वर्षीया सीता थापालाई पक्राउ गरेको थियो । बुहारी हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ । घरको भान्सा कोठाभित्र टाउकोमा गहिरो चोट र रगताम्मे भएको सुस्मिताको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
मृतक सुस्मिताकी पतिको करिब ९ महिनाअघि सवारी दूर्घटनामा परेर ज्यान गएको थियो । घटनाअघि कपिलवस्तुस्थित माइत बस्दै आएकी सुस्मिता पतिको सांस्कृति कार्यक्रमको लागि हेटौंडा आएकी थिइन् । सुसुरा, सासू र एक नन्दसँगै मृतक थापा घरमा बस्दै आएकी थिइन् ।
यसैगरी सुस्मिताको हत्या भएको भन्दै सांसददेखि महिला अधिकारकर्मी र हेटौंडाका स्थानीय महिलाहरुले दोषिलाई कारबाही माग गर्दै आइरहेका छन् ।
आइतबार हेटौंडाका महिलाहरु सडकमा उत्रिएर सुस्मिताको ‘हत्यारा’लाई कडा कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए । बुद्धचोकबाट सयौंको संख्यामा रहेका महिलाहरुले नगर परिक्रमा गर्दै दोषिलाई कारबाही माग गर्दै दबाब स्वरुप नाराबाजीमा उत्रिएका थिए ।
महिलाहरुले बुद्धचोकमै पुगेर मृतक केसीको आत्माको चिरशान्तिको कामनासहित दीप प्रज्जवलनसमेत गरेका छन् । हातमा मागसहितको प्लेकार्ड बोकेर स्वस्फूर्त सडकमा आएका महिलाहरुले ‘हत्यारा’लाई फाँसीको सजाय दिन माग गरेका थिए । उनीहरुले हत्याको संलग्नहरुलाई सार्वजनिक गर्न प्रहरीलाई आग्रह गरेका छन् ।यसअघि मकवानपुर एकल महिला समूहले मकवानपुर प्रहरीलाई ज्ञापन पत्र बुझाउँदै हत्यामा संलग्नलाई कारबाही गर्न माग
गरेको थियो । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले सुस्मिता घरमा नै क्षतविक्षत अवस्थामा शव भेटिएको खबरले स्तप्ध भएको भन्दै सत्यतथ्य छानबिन गरेर यथार्थ बाहिर ल्याउन सरकारसमक्ष माग गरेकी थिइन् ।