हेटौंडा/मकवानपुरका निजी विद्यालयका शिक्षकहरुले लकडाउनको अवधिको तलब , सेवा सुविधा नपाएको जिल्ला शिक्षा समन्वय ईकाईलाई ज्ञापनपत्र बुझाएका छन् ।
संस्थागत विद्यालय शिक्षक यूनियन (इष्टु) मकवानपुरले ६ बुँदे मागसहित शिक्षा विकास समन्वय इकाई मकवानपुरलाई सोमबार ज्ञापनपत्र बुझाएको हो । कोरोना भाइरस (कोभिड(१९) को विषम परिस्थितिमा पनि संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुले अनलाइन कक्षालगायत अन्य तोकिएको कार्य नियमित रुपमा गर्दै आइरहँदा समेत पूर्वनिर्धारित तलव, सेवासुविधा प्राप्त नभएको र राज्य पक्ष पनि यसमा मौन रहेको भन्दै इष्टुले ध्यानाकर्षण गराएको हो । शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख लिलानाथ गौतमलाई इष्टु मकवानपुरका अध्यक्ष सचिन लामाले छ बुँदै माग प्रस्तुत गर्दै ज्ञापनपत्र बुझाएका हुन् । मागअन्तर्गत संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई भुक्तानी गर्नुपर्ने खाईपाई आएको तलबभत्ता लगायत पूर्ववत् सेवासुविधा नियमित उपलब्ध गराइयोस्, कोरोना कहरको बाहनामा नियमविपरीत शिक्षककर्मचारीलाई निष्कासन गर्ने कार्य तत्काल रोक्नुपर्ने, सम्पूर्ण संस्थागत विद्यालयका शिक्षककर्मचारीलाई सामाजिक सुरक्षाकोषमा सहभागी गराइनुपर्ने माग उनीहरुले अघि सारेका छन् । त्यसैगरी विद्यार्थी भर्ना प्रक्रियालाई परिस्थिति मिलाएर सहज बनाइनुपर्ने, अनलाइन तथा भर्चुअल रुपमा पढाइएका÷पढाउने कक्षालाई औपचारिक मान्यता दिइनुपर्ने र सरकारद्वारा निजी क्षेत्रलाई दिने घोषणा गरिएको सहुलियत ऋणलगायत राहत प्याकेजमा संस्थागत विद्यालयलाई पनि समावेश गरिनुपर्ने उनीहरुको माग रहेको छ । ज्ञापनपत्र बुझ्दै शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख गौतमले आफू पनि शिक्षक भएर कार्य गरेकालेशिक्षकको समस्यामा कुनै कन्जुस्याई नगर्ने बताए । शिक्षा विकास समन्वय इकाईको वार्षिक कार्यक्रम अन्तर्गत आज मंगलबार जिल्ला समन्वय समितिमा बैठक भएकाले इष्टुको समस्यालाई कार्यक्रममा समावेश गराउने गौतमले बताए ।
इष्टु राष्ट्रिय समितिका सचिव दीपक गौतमले कोरोनाको विषम परिस्थितिमा राज्यले एकलौटी पाराले भर्ना अभियान सञ्चालन गर्दा शिक्षक÷कर्मचारी साथै सञ्चालक नै मारमा परेको बताए । इष्टुका मागलाई राज्यले सुनुवाई नगरेको भन्दै राष्ट्रिय समितिले शुक्रबार देशभरी प्रदर्शन गर्ने कार्यक्रम तय भएको उनको भनाइ रहेको थियो ।
यसैगरी इष्टुको मागलाई लिएर हेटौंडा उपमहानगरपालिका मेयर, जिल्ला समन्वय समिति, शिक्षा विकास महाशाखा हेटौंडालगायतलाई ज्ञापनपत्र बुझाउने इष्टु नगरका अध्यक्ष सिएम रिमालले जानकारी दिए । कार्यक्रममा इष्टु राष्ट्रिय समितिका सदस्य सुदिप वर्तौला, इष्टु जिल्ला उपाध्यक्ष समीर ढकाल, इस्टु नगर सचिव निर्माण घिमिरे तथा पत्रकार सुजन ढकाललगायतको उपस्थिति रहेको थियो।