सुस्मिता हत्यामा संलग्न रहेको दावीसहित प्रहरीले सार्वजनिक गरेको अभियुक्तहरु (बायाँबाट) उनको ससुरा, सासु, आमाजू र नन्द । तस्बिरःसाझाकुरा


हेटौंडा, / छोरो बितेर एकल बनेकी बुहारीमाथि बलात्कार प्रयास गर्नु अनि बुहारीले पोल खोल्लिन् भनी मार्नेसम्मको योजना बनाउनु । भान्छामा खाना खाइरहेकी बुहारीलाई परिवार नै मिलेर ढुङ्गाले किचीकिची मार्नु अनि भोलिपल्ट छिमेकमा गएर बुहारीले आत्महत्या गरी भन्दै भन्न जानु ।
यी हरफ कुनै कथा, कहानी अनि काल्पनिक लेखको अंश होइन । धनसम्पतिको लोभ र सामाजिक प्रतिष्ठा जोगाउने नाममा मान्छे कति क्रुर अनि निर्दयी बन्दो रहेछ भन्ने एउटा नमीठो तर, यथार्थ घटना हो । गत असार २ गते आफ्नै घरको भान्छामा मृत भेटिएकी हेटौंडा–४ कर्रास्थित सूर्यचोककी २४ वर्षीया सुस्मिता थापा क्षेत्रीको उनकै परिवार नै मिलेर निर्ममतापूर्वक हत्या गरेको घटनाको पर्दाफास भएसँगै आम मानिसमा मानवता हराउँदै गएको भन्ने बहसको अर्को अध्याय सुरु भएको छ ।
कपिलबस्तु घर भएकी सुस्मिता केसीले गत वर्ष २०७६ वैशाख १८ गते हेटौंडा–४ का रुपेन्द्र थापासँग बिहे गरिन्। बिहे गरेको ५ महिना नबित्दै २०७६ असोज २३ गते ससुरालीबाट फर्कने क्रममा रुपेन्द्रको सवारी दूर्घटनामा परी नवलपरासीको दाउन्नेमा मृत्यु भयो । अनि सुस्मिताको जीवनमा नयाँ अनि कठिन मोडको सुरुवात भयो । बिहे गरेको ५ महिनामै पति गुमाएकी सुस्मिताले पतिको मृत्युपछि पाउने क्षतिपूर्ति, रुबेन्द्र काम गर्ने कम्पनीबाट पाउने बीमा, बोनस, तलब भत्तालगायतको रकम बुझ्ने तयारी गर्दा परिवारमा विवाद सुरु भयो । रुपेन्द्रको मृत्युको क्षतिपूर्ति बापतको ५ लाख रुपैयाँ आफूहरुलाई पनि दिनुपर्ने भन्दै सासु, ससुरा, नन्दलगायतले सुस्मितामाथि मानसिक तनाव दिन थाले । बिवादकै बीचमा सुस्मिताले ५ लाख लिइन् । रुपेन्द्र काम गर्ने हेटौैंडास्थित क्लोजर सिस्टम इन्टरनेशनल प्रालि (सिएसआई)बाट मृत्यु पश्चात पाउने बीमा, बोनस र तलबभत्ताको बाँकी रकम ३८ लाख २८ हजार ४ सय ७२ रुपैयाँ भुक्तानी लिने विषयमा अर्को बिवाद भयो । हकवाला ससुरा प्रकाश, सासू तुलसा र मृतक सुस्मिताबीच विवाद भएपछि अहिलेसम्म पनि त्यो रकम भुक्तानी भएको छैन । त्यस्तै सामाजिक सुरक्षा कोषबाट १ लाख ७७ हजार ९ सय ४८ रुपैयाँ मृतक सुस्मिताको खातामा अनलाइन पेमेन्ट भएको छ । रुपेन्द्रको जीवन बीमा रहेको नेशनल लाइफ इन्स्योरेन्समा इच्छाइएको व्यक्तिको रुपमा रुपेन्द्रको बुबा प्रकाशको नाम भएकाले १० लाख ६३ हजार ९ सय १४ रुपैयाँ उनले लिइसके । तर पनि बिवादको भने अन्त्य भएन ।
ससुराले गर्थे बलात्कारको प्रयास

आर्थिक विवाद चलिरहेकैबीच ससुरा प्रकाशले एकल महिला आफ्नी बुहारीमाथि बलात्कारको प्रयाससमेत गरेको पाइएको प्रहरीको दावी छ । घरमा एक्लै भएको बेला बुहारीको गुप्त अंगहरु छुने, यौन आशयका कुराहरु गर्ने गरेको पनि प्रहरीको अनुसन्धानले देखाएको छ । आर्थिक विवाद चर्किँदै गएपछि बुहारीले आफूले गरेको कर्तुतको पोल खोलिदिने डर प्रकाशलाई भयो । अनि उनले बुहारीको हत्या नै गर्नेसम्मको योजना बनाए । अन्ततः २०७७ असार १ गते राती करिब १० बजेको समयमा ससुराको लौरोको बज्रपात र त्यसमाथि सिलौटोको लोहोरोले नन्दले हानेको प्रहारबाट सुस्मिताले सदाको लागि देह त्याग गरिन् । घटना भएको १३ दिनपछि प्रहरीले सोमबार सुस्मिताकी ससुरा ५८ वर्षीय प्रकाश थापा, सासू तुलसा कुमारी थापा, आमाजू २८ वर्षीया दुर्गा थापा (कार्की) र २३ वर्षीय नन्द सीता थापा रहेका छन् । आमाजू दूर्गाको हत्यामा प्रत्येक्ष संलग्न नभए पनि सुस्मितालाई मानसिक तनाव दिने र हत्याको लागि बुबा र बहिनीलाई उक्साएको आरोप उनीमाथि छ ।
यसरी भएको थियो घटना
कर्रास्थित घरमा गत असार १ गते राति करिब साढे ९ बजेको समयमा खाना खाएर सुस्मिताकी ससुरा प्रकाश र सासू तुलसा सुत्ने कोठामा गए । खानाखानुअघि प्रकाशले मदिरा पनि पिएका थिए । भान्छा कोठामा सुस्मिता र उनकी नन्द सीता थिइन् । सुस्मिता महिनावारी भएको कारण भान्साकोठाको भुँईमा बुसेर खाना खाँदै थिइन् । सोहीबेला सुस्मिताकी ससुरा प्रकाशले एक्कासी सुस्मिताको टाउकोमा पछाडिबाट लौरो प्रहार गरी भुँईमा लडाए । उनी लडेपछि सँगै रहेकी नन्द सीताले पनि सिलौटाको लोहोरोले थप प्रहार गर्न थालिन् । सुस्मिताले बचाउ–बचाउ भन्दै आवाज निकालेपछि अर्को कोठामा गइसकेकी सासू तुलसा भान्छा कोठामा आइन् । तर, तुलसालाई प्रकाश र सीता भएर भान्साकोठाबाट बाहिर निकालेर कोठामा फर्काए । बाबुछोरी मिलेर सुस्मितामाथि लोहोरो र लौरोको प्रयोग गरी निर्ममतापूर्वक हत्या गरे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशील सिंह राठौरका अनुसार हत्यापछि उनीहरुले त्यस घटनालाई आत्महत्यामा परिणत गर्ने योजना बनाए । भान्साकोठामा फुटेका सीसाको कचौराहरु, हत्या गर्न प्रयोग भएको लौरो सासू तुलसाले प्लाष्टिकको झोलामा हालेर भान्सा कोठाको बरण्डामा लगेर राखिन् । सीताले आफ्नी आमालाई सुत्ने कोठामा लगेर घटनाको विषयमा हल्ला नर्गन भनिन् । सबै मिलेर भान्साकोठामा बिग्रिएका सामानहरु सबै मिलाए । सुस्मिताको टाउकोमा लागेका रगतसमेत भान्छामा रहेको कपडाको चकटीले पुछे ।
सीतालाई भान्सा कोठाबाट बाहिर निकालेर प्रकाश भान्साकोठाको भित्रको चुकुल लगाए । पछाडिको आल्मुनियमको स्लाइडिङ झ्यालबाट बाहिर निस्के र झ्याल भित्रै अनि बाहिरबाटै लक हुने गरी लगाइदिए । र उनी घरको बरन्डाबाट निस्किए । प्रकाशले बरण्डामा रहेको सीसाको टुक्राहरु राखेको प्लाष्टिकको झोला र काठको लौरो घर पछाडि रहेको मकैबारीमा फाले । बाबुछोरीले नजिक वरीपरीका रगत पुछे र आफ्नो शरीरमा लागेका रगत पखाले, कपडा धोए, नुहाए । अनि आ–आफ्नो कोठामा गए । भोलिपल्ट असार २ गते ससुरा प्रकाशले आफ्नी बुहारीले आत्महत्या गरेको भन्दै छिमेकीलाई भने । छिमेकीले प्रहरीलाई खबर गरे । तत्पश्चात प्रहरीले १३ दिनको अनुसन्धानपछि पत्रकार सम्मेलन गर्दै सोमबार सुस्मिताको हत्या भएको निष्कर्षसहित अभियुक्तहरु सार्वजनिक ग¥यो ।