बागमती प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा चितवनमा मेसिनबाट धान रोपेर रोपाईं महोत्सवको उद्घाटन गर्दै ।


हेटौंडा, /बागमती प्रदेशको सिन्धुली बाहेकका जिल्लामा मनसुन सुरु भएसँगै धान रोपार्इं धमाधम भइरहेको छ। प्रदेशमा १५ जेठसम्मको तथ्यांक अनुसार २३ दशमवल ५ प्रतिशत धान रोपाई भएको हो ।
सिन्धुलीमा भने यसवर्ष धान रोपाई हुन नसकेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ । भौगोलिक बनावटलगायतका कारणले असार पहिलो सातासम्म धान रोपाई हुन नसकेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए । असारको दोस्रो हप्ताबाट सिन्धुलीमा धान रोपाई सुरु हुने उनले जानकारी दिएका छन् ।
प्रदेशको ललितपुर र भक्तपुरमा रेपाईको प्रतिशत बढी छ । प्रदेशमा उत्पादन हुने धानले प्रदेश आफै आत्मनिर्भर छैन् । देशको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेको बागमती प्रदेश धान उत्पादनबाट आत्मनिर्भर बन्न नसकेको सूचना अधिकारी अधिकारी बताउँछन् । ‘प्रदेशको धेरै भाग पहाडी क्षेत्र पर्छ। जनसंख्या धेरै छ । धान उत्पादनको तुलनामा प्रदेश आत्मनिर्भर छैन् ।’, अधिकारीले भने ।
मन्त्रालयका अनुसार प्रदेशमा १ लाख ३४ हजार हेक्टर जमिनमा धानखेती हुन्छ । जसमध्ये हालसम्म ३१ हजार ५ सय ६३ हेक्टरमा रोपाईं सकएको अधिकारीले बताए । आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ३३ हजार ८ सय ४२ हेक्टरमा धान खेति हुने गथ्र्यो । जसबाट ५ लाख २१ हजार ४ सय ७६ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेशका चितवन, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेमा सामूहिक खेती भइरहेका कारण यस वर्ष धान उत्पादन बढ्ने अनुमान छ । यी जिल्लामा मख्यतः राम, हाइब्रेड, साबित्री, मन्सुली आदि धानको खेती हुने गरेको पाइन्छ । कोरोना महामारी रोक्न सरकारले गरेको लकडाउनको कारण पनि धान उत्पादन बढ्ने संकेत देखिएको छ । लकडाउनको समयमा अधिकांश बाँझो जग्गा सदुपयोग गर्दै कृषकहरु उत्पादनसँग जोडिएका छन् ।
प्रदेशको मुकाम रहेको मकवानपुरमा २० प्रतिशत रोपाई सकिएको छ । आइतबारसम्म मकवानपुरमा ११ हजार हेक्टर क्षेत्रफलमा रोपाई भएको मन्त्रालयको आंकलन छ । मकवानपुरको बकैया, मनहरी, मकवानपुरगढी, थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका धेरै धान उत्पादन हुने क्षेत्र हुन् । मकवानपुरमा १६ हजार ६ सय ५० हेक्टर जमिनमा रोपाई हुनेगर्छ ।
मकवानपुरसहित प्रदेशको सबै जिल्लामा रोपाईं धमाधम भइरहे बाली नाश गर्ने सलह नेपाल प्रवेश गरेपछि कृषकहरु चिन्तामा छन् । सलह प्रदेशको ८ जिल्लामा देखिसकेको छ । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, धादिङ, काभ्रे, मकवानपुर, चितवन, रामेछाप र सिन्धुलीमा सलह देखिएको हो । सलहले मकवानपुरगढी गाउँपालिका–७ बतासे क्षेत्रमा लगाएको मकैबालीमा क्षति पु¥याएको छ ।