कोरोना/कोभिड–१९ को संक्रमण फैलिएसँगै भएको लकडाउन र व्यापार व्यवसायमा आएको सुस्तताले आम व्यवसायीमा चिन्ता बढेको छ । सम्भावित कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न भन्दै कोरोना संक्रमणको प्रभाव नदेखिँदै गत चैत ११ गतेबाट सरकारले देशव्यापी लकडाउन सुरु ग¥यो । लकडाउनको सुरुवाती अवस्थामा कोरोना भाइरस संक्रमण खासै देखिएन । नेपालमा लकडाउन लम्बिँदै गएको तर भारतमा लकडाउन खुकुलो भएसँगै भारतबाट नेपाल आउनेहरुको चाप बढ्दै जाँदा कोरोना संक्रमणको ग्राफ पनि उक्लिँदै गयो । लामो समयसम्म एकनाशको लकडाउन गर्दै आएकोमा सबै क्षेत्रको विरोधपछि करिब ८० दिनपछि गत असार १ गतेबाट सरकारले लकडाउन केही खुकुलो बनायो । लकडाउन खुकुलो भएसँगै व्यवसाय लगभग पूर्ववत सञ्चालनमा आएको भए पनि कारोबारमा गिरावट आएकाले घरभाडा तथा बैंक व्याज÷किस्तालाई लिएर व्यवसायी चिन्तित बनेका छन् ।
लकडाउन केही खुकुलो भए पनि जनजीवन सामान्य भइसकेको छैन । देशभर कोरोना संक्रमणको दर बढ्दैछ । पूर्ण लकडाउनको अवधिमा ५ हजारभन्दा कम रहेको कोरोना संक्रमितको संख्या पछिल्लो तीन हप्तामा १६ हजार पुुगेको छ । कोरोना संक्रमणको जाखिम बढी हुने भएकाले सार्वजनिक यातायात खुलेको छैन भने निजी सवारी साधनमा पनि जोरविजोर गरी नियन्त्रण प्रयास गरिएको छ । धेरै मानिस जमघट हुने शिक्षण संस्था, होटल, रेस्टुुरेन्ट, जिम, सिनेमाघर आदि सञ्चालन गर्ने अनुमति दिइएको छैन । विवाह, ब्रतबन्ध, मृत्युसंस्कार आदिमा पनि मानिसको जमघट गर्न बन्देज लगाइएको छ । भोजभतेरमा लागेको बन्देजले पार्टी प्यालेसहरु खुलेका छैनन्। सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन गरिएको अनुरोध तथा सार्वजनिक सवारीको अभावले गाउँघरबाट मानिसहरु शहरबजार आउन पाएका छैनन् । लामो समयको लकडाउनका कारण सबैजसो आर्थिक क्षेत्र प्रभावित भएकाले धेरै मानिसको आम्दानी कमजोर बनेको छ । यी सबै अवस्थामा खुलेका व्यवसायमा पनि ग्राहकको आवागमन निकै न्यून देखिएको छ, जुन स्वभाविक हो । हेटौंडा बजार क्षेत्रका अधिकांश व्यवसायमा विगतको तुलनामा अहिले बिक्री एक चौथाईमात्र भइरहेको व्यवसायीको भनाई छ । लामो समयसम्मको बन्दपछि खुलेका व्यवसायमा पनि बिक्री कमजोर भएपछि चर्को घरभाडा तथा बैंकब्याज कसरी तिर्ने भन्ने चिन्तामा धेरै व्यवसायी देखिन्छन् ।
लकडाउनपछि खाद्यान्न तथा अत्यावश्यक सामग्रीका व्यवसायबाहेक अधिकांश व्यवसाय धराशायी बनेका छन् । मानिसको दैनिकी पहिलाको जस्तो नहुँदा धेरै व्यवसायमा प्रभाव परेको छ । एकातर्फ धेरै मानिसको आर्थिक अवस्था निकै कमजोर बनेको छ भने अर्कोतर्फ विभिन्न क्रियाकलापमा सहजता आइसकेको छैन । सामान खरिद गर्ने ग्राहकको उपस्थिति नै कम हुँदा बिक्री कम हुने र नाफा पनि कम हुने अवस्थाबाट व्यवसायीमा चिन्ता बढेको छ । व्यवसायीको हकहितका लागि खोलिएका संघसंस्थाले आपसी छलफल तथा अन्तक्र्रियाबाट घरभाडा तथा बैंकको किस्ता÷ब्याजको भाका बढाउन वा सहुलियत दिलाउन पहल गर्नु आवश्यक छ ।