हेटौंडा, /मकवानपुरको ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै मकवानपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।
पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा सोमबार दिउँसो मकवानपुरका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हेटौंडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार साँझ थप २ जनामा संक्रमण पुष्टि भएसँगै एकैदिन मकवानपुरको ७ जनामा कोरोना देखिएको हो ।

हेटौंडाको प्रयोगशालामा कोरोना देखिएको २ जना थाहा नगरपालिका–६ बज्रबाराहीको स्थायी बासिन्दा अर्थात् ३९ वर्षीय श्रीमान र २९ वर्षीया श्रीमती भएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । उनीहरु दुवई (युनाइटेड अरब इमिरेट्स)बाट नेपाल आएको खुलेको छ । थाहा नगरको क्वारेन्टाइनमा बसेका दुवैजनाको स्वाब १० असारमा परीक्षणको लागि हेटौंडा ल्याइएको थियो ।

श्रीमान दुवईस्थित होटलमा कुक र श्रीमती ब्युटीपार्लरमा काम गर्ने जनाइएको छ । उनीहरु ६ दिनअघि काठमाडौंबाट थाहा नगर आएको आइसोलेसनका इञ्चार्ज चौलागाईंले बताए । उनहरुको ८ वर्षीय छोराको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ । छोरासहित संक्रमित दम्पतीलाई हेटौंडा आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको जनाइएको छ । यसैगरी पाटन अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका मकवानपुरका ५ जनाको ठेगाना भने खुल्न सकेको छैन् ।