सन्तोष चौलागाईं संयोजक, राष्ट्रिय युवा संघ, मकवानपुर

आन्दोलनहरु विरोध र मागका लागि हुने गरेको थियो । तर, तपाईंहरुले नेकपाभित्रको पनि एउटा व्यक्तिको पक्ष लिएर सडकमा उत्रनुभयो । किन यसो गर्नुपरेको ?
हाम्रो एकपक्षीय पक्षधरता होइन । नेकपाको सुदृढ एकताको पक्षमा युवा विद्यार्थीको संयुक्त आवाज हामीले मुखरित गरेका हौं । पार्टीभीत्र अवसरका लागि गुटउपगुटको निर्माणले नेतृत्वलाई अवसर सिर्जना गर्न मद्दत गर्ला तर हामी युवा विद्यार्थीहरु नेताकानिहीत स्वार्थका लागि परिचालित हुने होइन । हामी देशको सर्वाङ्गीण विकासका लागि नेतृत्वलाई घचघच्याउन चाहान्छौँ । विगतको अस्थिर राजनीतिबाट दिक्क भएका नेपालीहरु फेरिपनि अस्थिरताको राजनीति हेर्ने पक्षमा छैनन् । त्यसेलै स्थिर राजनीतिले नै मुलुकको विकास हुने हाम्रो निष्कर्ष हो। अहिले प्रधानमन्त्री र पार्टी अध्यक्षसमेत रहेका केपी ओलीले गरेको गल्ती के हो ? किन उनले नेतृत्व छाड्नुपर्ने हो ? जनताले चाहेका हुन् कि नेकपा कै केही नेताहरुको अवसरका लागि हो ? नेताका लागि अस्थिरताको राजनीतिको श्रृङ्खला सुरु हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।

अहिले तपाईंहरु केपी ओलीको पक्षमा आन्दोलन गरिरहँदा भोली प्रचण्डको पक्षमा आन्दोलन भयो भने दुवैपक्षको एकैसाथ सडकमा सौहाद्रता देखिएला ?
मैले फेरिपनि दोहोराए यो आन्दोलन केपी ओलीको पक्षमा होइन । राजनीतिक स्थीरताको पक्षमा हो । अहिलेका नेकपा सबै नेताहरु हाम्रा आदरणीय हुन् । तर, उहाँहरु सत्ता र स्वार्थकेन्द्रित राजनीतिमा अलमल्लिँदा फाइदा अरुपक्षले उठाउँछन् । तसर्थ, पार्टी एक ढिक्का भएर मुलूकको स्वार्थ र हितमा केन्द्रित भएर हाम्रा नेताहरु उभिनुपर्छ भन्ने हाम्रो माग हो । राजनीतिका एजेन्डा, मुलुकको राष्ट्रियताको एजेन्डा हो भने हामीले पक्षधरता पनि देखाउँथ्यौ होला तर, अहिले पावर सेयरिङ र सत्ता स्वार्थ नेतृत्वमा देखिन्छ । हामीले यस्तो प्रवृत्तिको मात्र विरोध गरेका हौं ।

तपाईं युवा नेताको रुपमा अगाडि बढिरहँदा किन एउटा पक्षलाई लिएर आन्दोलन गरिरहनु भएको छ ?
युवा र विद्यार्थी पार्टीको मेरुदण्ड हो । हामीलाई नेतृत्वले माथि चढ्ने भ¥याङका रुपमा बुझ्नु हुँदैन । नेतृत्वलाई आवश्यकता पर्दा, पार्टीलाई आवश्यकता पर्दा, हामी युवा रगतको बलिदान दिन तयार हुन्छौँ तर त्यो बलिदान समग्र मुलुक र जनताको पक्षमा हुनुपर्छ । इतिहास हेर्ने हो भने पनि युवाहरुकै रगत र पसिनाले मुलूकमा परिवर्तन सम्भव भएको हो । त्यही युवा आफ्ना नेतृत्वलाई सही बाटो हि“ड्नका निम्ति सडकबाट समेत आव्हान गर्न सक्छन् । यसको मतलब हाम्रो आन्दोलन पक्षधरताको होइन ।
नेकपाभित्रको विवादलाई तपाईंले कसरी हेरिहनु भएको छ ?
पार्टीभित्र बैचारिक बहस आवश्यक छ । द्वन्द्वबादको सिद्वान्तलाई आत्मसाथ गर्ने हामी कम्युनिष्टहरु बिचारबाटै निर्देशित हुने हो । नेकपाभित्र लामो संघर्ष र आन्दोलनबाट स्थापित नेतृत्वहरु हुनुहुन्छ । उहाँहरुमा नेतृत्व क्षमता सबैमा उत्तिकै होला समय परिस्थिति अनुसार महाधिवेशनबाटै नेतृत्व स्थापित हुने हो । अहिले नेकपाको नेतृत्वमा आदरणीय केपी ओली र पुष्पकमल दाहाल हुनुहुन्छ । पार्टी एकता हुँदा नै दुबै नेतृत्वलाई दुबै पार्टीका अरु नेता कार्यकर्ताले स्वीकार गरेरै निर्वाचनमा नेकपा गएको हो । अहिले नेकपा देशकै ठूलो शक्तिका रुपमा स्थापित छ । अहिले सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले गर्नुभएको छ । अहिले उहाँलाई परिवर्तन गर्नूपर्ने आधार निर्माण भएको छैन । उहाँले राष्ट्रियता सवालमा लिनुभएको अडान जनता माझ लोकप्रिय छ । अबमहाधिवेशनबाट पार्टीको नेतृत्व अरु नेताले लिनुपर्छ । अध्यक्ष ओलीले म अर्कोपटक अध्यक्ष हुन्न भन्नु भएकै छ । अब महाधिवेशन गरेर एकतालाई मजबुत पार्ने अभियान छाडेर प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेब गौतमले केपीलाई राजीनामा दिन बाध्य बनाउने परिस्थिति निर्माण गर्नुभएको छ । त्यो अहिलेको आवश्यकता होइन । त्यसैले नेताहरुले यति कुरा बुझ्नुहुन्छ जस्तो लाग्छ । यो बहसबाट सकारात्मक परिणाम नै आउँछ भन्ने हाम्रो अपेक्षा हो ।

केपी ओलीले पार्टीको निर्णय पनि नमान्ने, सहमति अनुसार पनि अगाडि नबढ्ने यस्तो अवस्थामा तपाईंहरुले किन ओलीको पक्षमा सडकमा उत्रिनुभएको ? यसले पार्टीमा झन विभाजन ल्याउँदैन र ?
उहाँ सफल नेतृत्वका रुपमा स्थापित हुँदाहुँदै उहाँलाई नै कमजोर बनाउने मनसाय पार्टी भित्रकै अरु नेतृत्वले पनि पाल्नु हुँदैन । तर, पार्टीको निर्णय सबैले मान्नुपर्छ । देश र जनताको हितका लागि सबै नेताले सोच्ने हो स्वार्थकेन्द्रीत राजनीतिबाट सबै नेता माथि उठ्नुपर्छ । सत्ताकेन्द्रीत
राजनीति मुलूकको हितमा छैन । केपी ओलीलाई हटाएर आफू नेतृत्वमा पुग्छु भन्ने मान्यताले नेकपालाई र समग्र मुलुकलाई हित गर्दैन । त्यसैले केपी ओलीले आफ्नो अडान राख्नुभएको हो ।

त्यसो भए युवा नेताहरु पार्टीभित्र सहमतिको वातावरणका लागि दबाब दिन छाडेर किन पक्ष र विपक्षमा विभाजित भइरहेको छन् ?
युवाहरु सबै नेतालाई एक ठाउँमा उभिन आग्रह गर्दै सडकमा आएका हुन् । मुलूकको हितमा अहिलेको माहामारीसंग जुध्न नेतृत्व एकठाउँमा उभिनुपर्छ । भारतीय सीमा अतिक्रमणका विरुद्ध नेपाल सरकारले उठाएको आवाजका पक्षमा हाम्रा नेता एकै ठाउँमा उभिउन भन्ने हाम्रो मान्यता हो । भारतीय सञ्चारमाध्यमले भने झै हाम्रा केही नेता भारतका शत्रु र कोही मित्रु न हुन् । एउटै एजेन्डामा उभिउन भन्ने हाम्रो भनाइ हो ।

केपी ओली सरकार भ्रष्टाचार र गुण्डाराजमा लिप्त भयो भनेर सर्वत्र विरोध भइरहेको अवस्थामा भारतले हटाउन खोज्यो भनेर भन्नु कतिको सान्दर्भिक देख्नुहुन्छ ?
सर्वप्रथम त यो सरकार भ्रष्टाचारमा लिप्त भयो भन्ने भारतको आरोप सीमाका विषयमा प्रधानमन्त्री ओलीको अडान विरुद्धको आक्रोश हो । यही परिस्थितिमा भारतीयहरु प्रधानमन्त्रीसंग रुष्ट छन् । यतिबेला प्रधानमन्त्रीलाई सम्पूर्ण नेपालीको साथ चाहिएको छ । राष्ट्रियताको सवालमा मुलूकलाई नै एकढिक्का बनाउन सक्ने प्रधानमन्त्रीको क्षमता देखेर भारत अत्तालिएका बेला केपी ओलीलाई पार्टीभित्रैबाट आक्रमण हुनु असान्दर्भिक
परिस्थिति हो । नेपालको प्रधानमन्त्री केपी शर्मा ओली भएदेखि यो मुलुकमा कानुनी शासनको अनुभूति जनताले
गरेका छन् । विगतका सरकारले गरेका भ्रटाचारी कामलाई समेत खोत्ल्ने प्रयास अहिलेको प्रधानमन्त्रीले गरेका छन् ।

ओलीको पक्षमा नहुँदैमा भारतीय पक्ष भनेर भन्न मिल्छ ? अहिलेको नेकपाभित्रको विवाद टुंग्याउँन युवाहरुले के गर्नुपर्छ ?
ओलीको पक्षमा नहुने सबै भारतीय पक्षका मान्छे होइनन् । तर भारतको चाहाना अनुरुप अहिले नै केपी ओलीलाई हटाउँछु भन्ने सोच्नु चाहीँ भारतकै इशारामा काम भयो कि भन्ने आशंका सबैलाई उब्जाउँछ । त्यसैले महाधिवेशन कुरौँ । नेतृत्व सधै केपी ओली नै हुनुपर्छ भन्ने होइन । परिवर्तन हुनु आवश्यक छ । नत्र हामी युवाको पालो कहिले आउँने ? त्यसैले हामीले हाम्रा नेताहरुलाई खबरदारी गर्ने हो । त्यो गरिरहेकै छौं । जनमतको सम्मान नेतृत्वले गर्नुपर्छ । नेताहरुलाई अवसर सधै रहन्छ । तर, अवसरका लागि जनता र जनमतकै अपमान गर्ने काम नेताबाट नहोस् । यसका लागि एकीकृत नेकपा, सुदृढ र शक्तिशाली नेकपा युवाको चाहाना हो । हामी सडकबाट यही चाहना नेतृत्व सामु राखिरहेका छौँ । यो हाम्रो मात्रै चाहना होइन, सम्पूर्ण नेपालीको भावना हो ।