हेटौंडा, / लकडाउनमा ठप्प व्यवसाय सञ्चालन गर्ना नपाएका व्यवसायी सरकारको कर र बैंकहरुको किस्ता तिर्न तरेको ताकेताले प्रताडित हुनु परेको जनाइएको छ ।
व्यवसायीहरुको छाता संस्था मकवानपुर उद्योग वाणिज्य संघले कर र बैंकको किस्ता ताकेताले समस्या बनाएको जनाएको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत संघीय अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै संघले उद्योग व्यवसाय धरायशी भएको निजी क्षेत्रको लगानी जोखिममा परेको उल्लेख गरेको छ ।
संघले व्यवसाय बन्द अवस्थामा पनि बैंकले किस्ता र सरकारले कर तिर्न समयसीमा तोकेर ताकेता गरेपछि निजी क्षेत्रलाई ऋण दिन मौद्रिक नीति मार्फत आवश्यक सम्बोधन गर्न अर्थमन्त्री आग्रह गरेको छ । सरकारले राहतको प्याकेज ल्याउँदै नीजि क्षेत्रलाई टिकाउने तर्फ सम्बेदनशील हुनुपर्ने संघले ज्ञापन पत्रमा जनाएको छ ।
संघले बैंक कर्जा भुक्तानी गर्न कोभिड–१९ प्रभावितको लागि चैतदेखि लकडाउन समाप्न भएको मितिले ६ महिनासम्मको ब्याजलाई पुँजीकरण गरेर कर्जा पुनर्संरचना गर्नुपर्ने माग राखेको छ । निक्षेप र कर्जाबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ३ प्रतिशत कायम गर्नुपर्ने, ब्याजदरलाई क्रमशः घटाउँदै लैजानुपर्ने र उत्पादन मूलक क्षेत्रको कर्जामा ब्याजदर बेसरेट भन्दा माथि नबढ्ने गरी कायम गर्नुपर्ने माग संघले राखेको छ ।
उद्योग र वाणिज्य क्षेत्र लगायत सम्र्पूण प्रभावित क्षेत्रलाई मौद्रिक नीति मार्फत यथोचित र अनिवार्य सम्बोधन गर्न अर्थमन्त्रीलाई संघले आग्रह गरेको हो । संघले नेपाल उद्योग वाणिज्य महासंघले प्रस्तुत गरेको मौद्रिक नीति माथिको सुझाव प्रति ऐक्यवद्धता जनाउँदै पूर्ण कार्यान्वयनको लागि अर्थमन्त्री समक्ष अनुरोध गरेको छ ।
कर्जाको ब्याजदर दुई प्रतिशत बिन्दुले कम गर्ने राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नभएको भन्दै संघले निर्देशन कार्यान्वयनमा कडाई गर्नुपर्ने माग राखेको छ । चैत २०७६ मसान्तसम्म भुक्तानी गरेको ब्याजमा १० प्रतिशत छुट दिने व्यवस्था पनि कार्यान्वयन हुन नसकेको जनाइएको छ । ब्याज रकमको छुट टर्म लोनमा मात्र नभई वर्किङ क्यापिटल लोन र टर्न लोनलगायतका सबै प्रकारका कर्जाहरुमा पनि लागू गर्नेपर्ने संघको माग छ ।
लकडाउन अवधिको ब्याज मिनाहा गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ । २५ लाखसम्मको कर्जामा सबै ब्याज, एक करोड रुपैयाँसम्मको कर्जामा ५० प्रतिशत र पाँच करोडसम्मको कर्जामा २५ प्रतिशत ब्याज मिनाहा गर्नुपर्ने माग संघको छ । संघका अध्यक्ष कृष्ण कटुवालले मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपाललाई ज्ञापन पत्र बुझाएका थिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, सचिव काव्यमणि अधिकारी, सदस्य नरेन्द्र भण्डारी लगायतकाको उपस्थिति थियो ।