हेटौंडा/ नेपाल बुद्धिचाल संघले अनलाइन राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्ने भएको छ । असार १९ गतेदेखि सुरु भएको अनलाइन बुद्धिचाल प्रतियोगिता साउन ३१ गतेसम्म चल्ने नेपाल बुद्धिचाल संघका सचिव धरम लामाले जानकारी दिए ।
युथ जुनियर र ५० वर्ष भन्दा माथी उमेर समूहका प्रतिष्पर्धीहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । असार १९ र २० गते २० वर्षभन्दा कम उमेरका महिला तथा खुला, असार २२ गते ५० वर्षभन्दा माथि उमेरसमूहका, असार २६ गते १८ वर्षभन्दा कम उमेरको महिलातर्फ र असार २७ गते १८ वर्ष भन्दा कम उमेर समूहका अनलाइन प्रतियोगिता सम्पन्न भएको उनले बताए । हरेक शुक्रबार र शनिबार १६, १४, १२, १० र ८ वर्ष उमेरसमूहका खुला तथा महिलाहरूको अनलाइन प्रतियोगिता सञ्चालन हुने सचिव लामाले बताए।
सबै उमेर समूहका प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए । बुद्धिचाल संघले प्रशिक्षक तथा निर्णयकहरूका लागि रिफ्रेसमेन्ट कार्यक्रम र दशैं पछि महिला र खुल्ला प्रतियोगिता पनि सञ्चालन गर्ने उनले बताए । कोरोना भाइरसको महामारीको समयमा भौतिक रुपले ठूलो संख्यामा खेलाडीहरु जम्मा गरी खेल संचालन गर्न गराउन रोक लगाइएकोले अनलाइनमार्फत प्रतियोगिताहरु सञ्चालन गरिएको संघले जनाएको छ । यस अघि एसियन बुद्धिचाल महासंघले २० वर्षभन्दा कम उमेर समूहका प्रतियोगिता सञ्चालन गरिसकेको छ भने ५० वर्ष र ६५ वर्ष माथीको उमेर समूहको प्रतियोगिता जारी रहेको छ । अन्तर्राष्ट्रिय बुद्धिचाल संघले जुलाई २२ देखि ३० अगस्टसम्म अनलाइन चेस ओलम्पियाड सञ्चालन गर्ने भएको छ।
उक्त प्रतियोगितामा सहभागी हुन नेपालले पूर्व नेपाल च्याम्पियन सुरबीर लामाको कप्तानीमा १३ सदस्यीय टोली छनौट गरेको छ । टोलीमा २१औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका बिजेता पुरुषोत्तम चौलागाईं र उपविजेता फिडे मास्टर मनिष हमाल, छैठौं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका विजेता महिला फिडे मास्टर सुजना लोहनी र उपविजेता सिन्दिरा जोशी, उच्च वरियताका क्यान्डिडेट मास्टर विवेक थिङ र फिडे मास्टर रुपेश जैशवाल, महिला तर्फका उच्च वरीयताका रन्जु भट्ट र शान्ति धिमाल, २० वर्षसम्म उमेर समूहका अनलाइन राष्ट्रिय बिजेता युवराज पौडेल, महिला विजेता अनिषा न्यौपाने र २० वर्ष उमेर समूहका उच्च वरियतामा रहेका निकेन कुसथ महिला तर्फका स्नेहा यादव रहेका छन् ।