हेटौंडा/लकडाउन केही खुकुलो भएसँगै मकवानपुर बहुमुखी क्याम्पसले अनलाइनबाट पठनपाठन सुचारु गर्ने गरी तयारी गरेको छ । सम्भव भएसम्मका विद्यार्थीलाई सहभागी गराएर पठनपाठन सुचारु गर्ने तयारी गरिएको क्याम्पसले जनाएको छ ।
११ का विद्यार्थीको मूल्यांकन गर्ने, नियमित पठनपाठन सञ्चालन गर्ने तथा नया“ भर्नाको व्यवस्थापनलगायतको विषयमा क्याम्पसको प्राज्ञिक समितिले छलफल गरेको छ । प्राज्ञिक समितिको बैठकले कक्षा ११ का विद्यार्थीको वार्षिक मूल्यांकन गर्ने, पठनपाठनको वैकल्पिक उपाय अपनाउने र नया“ भर्नालाई व्यवस्थित गर्ने विषयमा छलफल गरेको क्याम्पस प्रमुख डा. शंकरप्रसाद उपाध्यायले जानकारी दिए । प्राज्ञिक समितिको छलफलपछि क्याम्पसले संकायगत छलफल गरिरहेको छ । शुक्रबार व्यवस्थापन संकाय प्रमुख, विभागीय प्रमुख तथा प्राध्यापकबीच छलफल सञ्चालन गरेको थियो भने सोमबार बिहान मानविकी तथा शिक्षाशास्त्र संकाय र विज्ञान संकायका प्रमुख एवम् विभागीय प्रमुख तथा प्राध्यापकहरुबीच छलफल गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आन्तरिक परीक्षा र कक्षामा विद्यार्थीको उपस्थितिका आधारमा मूल्यांकन गरी कक्षा ११ को वार्षिक नतिजा प्रकाशन गर्ने जनाएको छ। बोर्डले निर्देशिका जारी नगरिसकेको अवस्थामा क्याम्पसले आवश्यक तयारी गर्न सुरु गरेको क्याम्पस प्रमुख डा. उपाध्यायले जानकारी दिए । यस्तै क्याम्पसले साउन दोस्रो सातादेखि कक्षा १२ र स्नातक तहको पठनपाठन अनलाइनमार्फत सञ्चालन गर्ने तयारी गरेको शैक्षिक प्रमुख एवम् सहायक क्याम्पस प्रमुख डा. रामप्रसाद अधिकारीले बताए । क्याम्पसमा ठूलो संख्यामा विभिन्न जिल्ला एवम् प्रदेशका विद्यार्थी भएकाले सबैलाई समेट्न नसकिए पनि सम्भव भएसम्मका विद्यार्थीलाई क्रमशः नियमित पठनपाठनमा सहभागी गराउने अधिकारीले बताए ।