हेटौंडा/नेपाली काँग्रेसका संस्थापक एवम् नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा मंगलबार हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रगत दिएका छन् । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम भएको हो।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना तथा काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँले पहिलो रक्तदाता सुजन बिडारीलाई ब्लड ब्याग दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो । बीपीको १९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्म भएको थियो भने २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बीपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनीतिक व्यक्तित्वका रूपमा समेत चिनिन्थे । २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पूर्ण राजनीतिक दलको नेता बन्ने अवसर पाए ।
रक्तदान कार्यक्रममा काँग्रेस बागमती प्रदेश संसदीय दलकी प्रमूख सचेतक राधा घले, कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहकार उमा दाहाल, भरत पुराजुली प्रवक्ता प्रदिप कोइराला, थाहा नगरका उपमेयर एवं जिल्ला सदस्य खड्ग गोपाली, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, बकैया गाउँपालिका प्रमुख दामोदर खनाललगायत जिल्ला कार्यसमितिका सदस्यहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।