कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि गरिएको लकडाउन मंगलबार राति १२ बजेबाट अन्त्य भएको छ । चार महिना लामो लकडाउनमा नेपालका हरेक क्षेत्र ठप्प हुँदा देशको आर्थिक अवस्था चौपट भएको थियो । लकडाउनको अन्त्य भएसँगै विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । तर, केही क्षेत्रमा अझै प्रतिबन्ध कायमै छ ।
सरकारले अर्को निर्णय नगर्दासम्म शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्रहालयहरु र चिडिया खाना बन्द रहनेछन् । मनोरञ्जन क्षेत्रमा प्रतिबन्ध कायमै हुने भएपछि यस क्षेत्रमा आबद्ध व्यक्तिहरु आक्रोशित भएका छन् ।
फिल्म क्षेत्रका अगुवाहरु लकडाउनको अन्त्य भएपछि फिल्म प्रदर्शन र निर्माणसँगै सिनेमा हल खुल्नेमा विश्वस्त थिए । तर, सरकारको निर्णयले फिल्म क्षेत्रमा निराशा छाएको छ । भीडभाड हुने यातायात, होटल, हवाईलगायत विभिन्न क्षेत्रले सञ्चालनको अनुमति पाउँदा मनोरञ्जन क्षेत्रमा प्रतिबन्ध कायमै रहनुले सरकार यस क्षेत्रप्रति गम्भीर नभएको टिप्पणी सुरु भएको छ ।
लकडाउनको अन्त्य हुँदा पनि सरकार र फिल्म क्षेत्रका नेतृत्व वर्ग फिल्म क्षेत्र सुचारू गर्न अग्रसर नदेखिएकामा अभिनेत्री पूजा शर्माले असन्तुष्टि व्यक्त गरेकी छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै उनले भारतको फिल्म क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नु पर्ने हो भन्दै प्रश्नसमेत गरेकी छन्। छलफल र बहसबाट सरकारलाई दबाब दिन उनको आग्रह छ ।
उनले लेखेकी छन्, ‘के हामी नेपाली चलचित्रको छुट्टै अस्तित्व छैन ? नेपाली चलचित्रले के हामी चलायमान हुन सक्दैन यो गम्भीर प्रश्न हो । आऔं, छलफल बहस गरौं, सरकारलाई दबाब दिऔं र कोरोना कहरबाट सुरक्षित रहने व्यवस्थासहित चलचित्र क्षेत्रलाई चलायमान बनाऔं ।’ चार महिनादेखि ठप्प रहेको फिल्म क्षेत्र खोल्न सरकारलाई दबाब कम भएको उनको आशय छ ।
(फिल्मीखबरबाट)