हेटौंडा, / बागमती प्रदेश सरकारले मकवानपुरमा १६ वटा पक्की पुल निर्माण गर्ने भएको छ ।मकवानपुरसहित प्रदेशका १३ जिल्लामा १२० वटा पक्की पुल निर्माणाधीन छन् । प्रदेश यातायात निर्देशनालयका अनुसार बहुवर्षीय योजनाका रूपमा केन्द्र सरकारको अनुदानमा ६३ र प्रदेश सरकारको लगानीमा ५७ वटा पक्की पुल निर्माण हुँदै छन् । जसको कुल लागत करिब १ अर्ब रुपैयाँ रहेको निर्देशनालयले जनाएको छ । संघीय सरकारको अनुदानमा मकवानपुरमा पूर्वाधार विकास कार्यालय चितवनमार्फत १० वटा सडक पुल बन्दै छ । प्रदेश सरकारको लगानीमा ६ वटा सडक पुल निर्माणाधिन रहेको निर्देशनालयले जानकारी दिएको छ ।
संघीय सरकारले चालू वर्ष मकवानपुरगढी गाउँपालिका–५ ज्यामिरे खोलामा पुल निर्माणका लागि ५० लाख, हेटौंडाको कुखरेनी खोलामा ६२ लाख ५० हजार, आँपखोल्सीमा १० लाख, मकवानपुरगढीको सिमलीटारमा १ करोड ३५ लाख, कैलाशको कालीखोलामा १५ लाख, दामनको भुङ्देल खोलामा ८० लाख, नामटार–चुनियाँ–कालिकाटारको कालीखोलामा १ करोड, हेटौंडाको कर्राखोलामा पुल बनाउन ५० लाख रुपैयाँ छुट्याएको छ ।
इन्द्रसरोवरको कुलेखानी–सिस्नेरी खोलामा १५ लाख, बागमती गाउँपालिकाको बागमती खोलामा सिक्रे दोभान पुल र तालढुंगा काभ्रे–राईगाउँमा पुल निर्माणका लागि ३ करोड ९ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गरिएको यातायात निर्देशनालयका निर्देशक डा. सहदब बहादुर भण्डारीले जानकारी दिए ।
त्यस्तै प्रदेश सरकारको लगानीमा चालू आवमा मकवानपुरमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ । हेटौंडा–११ र १२ नम्बर वडा जोड्ने राप्ति नदीमा ४ करोड, थाहा नगरपालिकाको २ र ३ नम्बर जोड्ने इन्द्रायणी चौर–सेतिघाट खोलामा २ करोड, देउरालीमोड–आर्पटे–भैंसे चौर–बासुकी निमावी बीचमा पर्ने डडेखोलामा पजनक पुल बनाउन ७५ लाख रुपैयाँ बजेट छुट्याइएको निर्देशक भण्डारीले जानकारी दिए । डडेखोलामा पुलसँगै कालोपत्रे पनि गरिनेछ ।
भीमफेदी–१ याङर्याङ खोलामा ४० लाख, भीमफेदीकै गोल्पिङवेशी राप्ति आँपचौर जोड्ने पुलको लागि ३० लाख, हेटौंडा–१ लालझाडी सडक पुल निर्माणको लागि १ करोड रुपैयाँ छुट्याएको भण्डारीले जानकारी दिए । प्रदेश सरकारले मकवानपुरका ६ वटासहित नुवाकोटमा ८, सिन्धुलीमा ६, रामेछाप, दोलखा र रसुवामा १–१ , भक्तपुरमा ९, काभ्रेमा ४, सिन्धुपाल्चोकमा ६, धादिङमा ४, चितवनमा ९, काठमाडौंमा ७ र ललितपुरमा २ वटा पुल निर्माण गर्ने भएको छ ।
प्रदेशमा प्रदेश सरकार गठन भएपछि २०७५/०७६ र २०७६/०७७ गरी दुई वर्षमा ३२ वटा पक्की पुल निर्माण भइसकेको छ । दुई वर्षमा ३२ वटा पुल निर्माण परेको प्रदेश सरकारले चालू वर्षमा भने १ सय २० वटा पुल निर्माण गरिसक्ने भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वार फुयाँलको दावी
छ । ‘अब चालू वर्षमा १ सय २० वटा पुल उद्घाटन गरेको समाचार तपाईहरुले लेख्न पाउनु हुनेछ ।’ ७ साउनमा पुलको उद्घाटन गर्दै मन्त्रीले भनेका छन् ।
प्रदेश सरकारले संघीय सशर्त अनुदान र आफ्नै बजेटबाट प्रदेशका १२ वटा जिल्लामा निर्माण भएका ३२ वटा पुलको कुल लम्बाइ ९९२.९० मिटर छ । ७३ करोड ६७ लाख ४३ हजार लागतमा सबै पुलको निर्माण गरिएको निर्देशक भण्डारीले जानकारी दिए । दुइवर्षमा रसुवामा भने पुल निर्माण हुन नसकेको हो । दुई वर्षमा स्टिल ट्रसका २, सस्पेन्सन २, स्टिल प्लेट गर्डर ४, आरसीसी बिम १७ र आरसीसी बक्स किसिमका ७ वटा पुल निर्माण भएको हो ।
तीन वटा झोलुङ्गे पुल
यातायात पूर्वाधार निर्देशनालयले मकवानपुरको तीन स्थानमा झोलुङ्गे पुल निर्माण गर्दैछ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका र भीमफेदी गाउँपालिका तथा पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।
७९ लाख ८ हजार ८ सय ७० रुपैयाँ लागतमा भीमफेदीको धार्के दोभान झोलुङ्गे पुल निर्माण भइरहेको निर्देशक भण्डारीले जानकारी दिएका छन् । यसैगरी २ करोड ८८ लाख ९५ हजार २ सय ३० रुपैयाँ लागतमा बागमती गाउँपालिका र छिमेकी जिल्ला सिन्धुली जोड्न चैनपुर–बागमती झोलुङ्गे पुल पनि निर्माणाधिन रहेको उनले बताए।
भीमफेदी र बागमतीको झोलुङ्गे पुल चालु वर्षमा सकिने जनाइएको छ । त्यस्तै, थाहा नगरपालिकाको कार्यालय जोड्ने झोलुङ्गे पुल निर्माण गरिने निर्देशक भण्डारीले जनाएका छन् । मकवानपुरमा ३ सहित प्रदेशभरी १३ वटा झोलुङ्गे पुल निर्माणको क्रममा रहेको जनाइएको छ ।