हेटौंडा/कोरोना भाइरसको महामारीका कारण परेको अर्थतन्त्रमा परेको नकारात्मक प्रभाव अहिले उद्योगहरुले भोगिरहेका छन् । सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन केहीदिनअघि सकिए पनि हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु भने पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।
लकडाउन अन्त्य हुनुअघि नै औद्योगिक क्षेत्रका सबैजसो उद्योगहरु सञ्चालनमा आएको भए पनि बजारमा सामानको माग नहुँदा पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको उद्योगीहञञञरुले बताएका छन् । खाद्यान्न र अत्यावश्यकबाहेक उद्योगहरुले अहिले सरदर ४० देखि ५० प्रतिशत मात्र उत्पादन गरिरहेको उद्योग संघ मकवानपुरको भनाइ छ ञञ। ‘बजारमा माग नै नभएपछि सामान उत्पादन गरेर मात्र पनि भएन, त्यसैले धेरै उद्योगहरुले अहिले उत्पादनमा कटौती गर्न बाध्य भइरहेका छन् । सामान स्टक धेरै भएका उद्योगहरुले त उत्पादन नै बन्द गरेर बसिरहेका छन् ।’ उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले भने ।
कोरोना भाइरसको कारण लामो समय लकडाउनपछि अवस्था सामान्य बनिरहे पनि अझै औद्योगिक वातावरण सामान्य हुन भने करिब ६ महिना लाग्ने पोखरेलको भनाइ छ । औद्योगिक क्षेत्रमा
रहेका एक सय १२ वटा उद्योगहरुमध्ये प्राय सबै सञ्चालनमा आइसकेको भए पनि बजारमा सामानको माग निकै कम भएकाले पूर्णरुपमा उत्पादन भने गर्न नसकिरहेको उनले बताए । ‘औद्योगिक उत्पादन पूर्ण रुपमा हुनको लागि नेपाल सरकारका परियोजना, कन्स्ट्रक्सनका कामहरुलगायतका ठूला ठूला आयोजनाहरुको कामहरु शत प्रतिशत सुरु हुनुपर्छ । त्यो हुन सकिरहेको छैन ।’ संघका अध्यक्ष पोखरेलले भने । कोरोना भाइरसको प्रभावका कारण फर्निसिङ, कार्पेट उद्योग, कन्स्ट्रक्सनका सामाग्री उत्पादन गर्ने उद्योग, पाइप, रङ उद्योगहरु धेरै प्रभावित भएका छन् । त्यस्तै मैदा उद्योग, तेल, दाना, मैदा, चामल उद्योगहरु भने पूर्ण क्षमतामा सञ्चालनमा रहेको उद्योगीहरुले बताएका छन् ।
‘सबै उद्योगहरु बजार र आवश्यकतासँग जोडिएका हुन्छन् । कोरोनाका कारण अर्थतन्त्र नै धरापमा रहेका बेला मानिसको क्रय शक्ति घटेको छ । अत्यावश्यकभन्दा बाहेकका कामहरु गर्न नसक्ने अवस्थामा भएका कारण उद्योगहरुको उत्पादनले बजार पाउन सकेको छैन ।’ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थाक राजेन्द्रसाद कँडेलले भने । कोरोनाका कारण हेटौंडा औद्योगिक क्षेत्रमा कति आर्थिक नोक्सानी भयो भन्नेबारे आफूहरुले तथ्यांक संकलन गरिरहेको कँडेलले बताए ।
गत चैत ११ गतेदेखि मुलुक लकडाउन भएपछि बन्द हेका हेटौंडा औद्योगिक क्षेत्रका उद्योगहरु करिब दुइसातापछि आंशिक रुपमा खुल्न थालेका थिए । सरकारले तोकेको मापदण्ड पूरा गरी सीमित संख्यामा कामदार खटाएर अत्यावश्यक र त्यससँग सम्बन्धित केही उद्योगहरु त्यतिबेलैदेखि सञ्चालनमा आएका थिए । तर, अझै वातावरण भने सहज भइसकेको छैन ।