हेटौंडा,/ मकवानपुरमा शनिबार मात्रै थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरका छन् ।हेटौंडा–३ बसामाडीका एक युवकलाई शनिबार साँझ कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । मनहरी–६ सुनाचुरी घर भएका ५० वर्षीयलाई पनि कोरोना देखिएको हो ।
हेटौंडाका संक्रमित बहराइनबाट ३ साउनमा स्वदेश फर्किएको जनाइएको छ । उनी घरमा आएर सुरक्षित साथ होम क्वारेन्टाइनमा बसेको चौलागाईंले जानकारी दिए । संक्रमण पुष्टि भएसँगै उनलाई आइसोलेसनमा भर्ना गरी राखिएको छ। मनहरीका संक्रमित साउदी अरबबाट स्वदेश फर्किएका हुन् । उनी मनहरी–७ बिजौनास्थित राष्ट्रिय आधारभुत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।
८ साउनमा १५ जनाको नाक तथा घाँटीको स्वाब संकलन गरी परीक्षणको लागि प्रयोगशाला पठाएकोमा मनहरीका पुरुषलाई मात्र संक्रमण पुष्टि भएको आइसोलेसनका ईञ्चार्ज चौलागाईंले बताए । संक्रमित ५ साउनमा हेटौंडाको होल्डिङ सेन्टरबाट क्वारेन्टाइन पठाइएको थियो । उनलाई संक्रमण पुष्टि भएसँगै आइसोलेसनमा भर्ना गरिएको छ ।
साउदीमा उनको आरडीटी परीक्षण मात्रै गरिएको जनाइएको छ । मकवानपुरमा हालसम्म संक्रमितको संख्या ४४ पुगेको छ । आइसोलेसनबाट हालसम्म २४ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भइसकेको चौलागाईंले जानकारी दिए । हाल मकवानपुरमा सबैभन्दा धेरै संक्रमित हेटौंडाको १४, मनहरीको १२ र थाहा नगरपालिकाको ७ जना छन् । भिमफेदी र बागमतीमा २–२ जना, बकैया, राक्सिराङ, कैलाश र इन्द्रसरोबरमा १–१ जना छन् । मकवानपुरगढीमा हालसम्म संक्रमति फेला परेको छैन ।