विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ (कोरोना भाइरस)को प्रभाव नेपालमा पनि परिरहेको छ। गत डिसेम्बरको अन्त्यमा छिमेकी मुलुक चीनबाट सुरु भएको कोरोना संक्रमणको लहर एसिया, युरोप, अमेरिका, अफ्रिका, अष्ट्रेलिया जताततै विस्तार भएको छ । केही देशमा यसको प्रभाव न्यून र कम समयका लागि देखियो भने केही देशमा ठूलो प्रभाव लामो समयसम्म देखिएको छ । नेपालमा पनि सम्भावित कोरोना संक्रमण रोक्न गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरियो । सुरुवातमा कोरोना संक्रमण न्यून भए पनि भारतबाट आउने नेपालीको संख्या बढ्दै गएपछि कोरोना संक्रमण पनि बढ्दै गयो । कोरोना संक्रमण पर्याप्त देखिइरहँदा सरकारले करिब ४ महिनासम्मको लकडाउन गत असार ७ गतेबाट अन्त्य गरेपछि कोरोना संक्रमणको त्रास झनै बढेको छ।
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ । संक्रमितमध्ये ४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । यसैगरी १३ हजार १ सय २८ जना संक्रमित निको भएका छन् । विदेशमा रहेका नेपालीहरुमध्ये ३० हजार ५ सय ७१ जनामा कोरोना संक्रमण देखिएकोमा २८ हजार ६ सय ८१ जना नेपाली संक्रमणमुक्त भएको गैरआवासीय नेपाली संघले बताएको छ । विदेशमा कोरोना संक्रमणबाट २ सयभन्दा बढी नेपालीको ज्यान गएको छ । यसैगरी विश्वभर कोरोना संक्रमण हुनेको संख्या करिब १ करोड ६० लाख छ । शनिबारसम्ममा कोरोना संक्रमणबाट ६ लाख ३९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या ४१ लाख नाघेको छ । ब्राजिलमा २३ लाख तथा भारतमा १३ लाख संक्रमित भएका छन् । कोरोना संक्रमणबाट विश्वका सबैजसो देश प्रभावित बनेका छन् । नेपालमा पछिल्लो समय दैनिक एक सयभन्दा बढीमा कारोना संक्रमण देखिइरहेको छ । विगतमा अधिकांश संक्रमितमा कोरोना भाइरसको कुनै लक्षण नै नदेखिएकोमा पछिल्ला दिनहरुमा लक्षणसहितका संक्रमित बढिरहेका छन् । कोरोना संक्रमण भएर बिरामी भइसकेपछि जाँच गराउनेको संख्या बढ्दै जाँदा यसबाट मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ ।
कोरोना संक्रमणको सुरुवातमै सरकारले उच्च सतर्कतासहित अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान बन्द, लामो दुरीका सार्वजनिक यातायात बन्दर, सीमानाका बन्द, बढी मानिसको भिडभाड हुने शिक्षण संस्था, सिनेमा घरलगायत क्षेत्रहरु बन्द गरेर संक्रमण फैलन नदिन सफलता पाएकै हो । तर, भारतले लकडाउन खुकुलो पारेसँगै भारतमा रोजगारीका लागि गएका अधिकांश नेपाली स्वदेश फर्केसँगै संक्रमणको दर तिब्र बन्यो र दैनिक साढे सात सयसम्म पुग्यो । अहिले भारतबाट आउनेको संख्या कम हुँदै जाँदा संक्रमण पनि घट्दै गएको र लामो समयसम्म लकडाउनले सबै क्षेत्र धराशायी बन्न थालेपछि सरकारले लकडाउन अन्त्य गरे पनि धेरै भिडभाड हुने क्षेत्र खुला गरेको छैन । अनावश्यक घरबाहिर ननिस्कन, मास्क प्रयोग गर्न, सामाजिक तथा भौतिक दुरी कायम गर्न आग्रह गरेको भए पनि त्यसलाई नागरिकले बेवास्ता गर्दा संक्रमण व्यापक हुने सम्भावना प्रचूर बनेको छ । त्यसैले आफैं सेचत बनौं र सावधानी अपनाऔं ।