हेटौंडा, ११ साउन÷ मकवानपुरका गौरव संगीतकार उस्ताद भोला जोशीको निधन भएको छ । हेटौंडा–९ सिमेन्ट रोडस्थित आफ्नै निवासमा ८० वर्षको उमेरमा जोशीले आइतबार संसार छोडे ।
सम्पूर्ण जीवन नै संगीतमा समर्पण गरेका जोशीका औंलाहरु ७० दशकसम्म पनि हार्मोनियमका रिङमा नाचिरहेका हुन्थे । संगीत भनेपछि हुरुक्कै हुने जोशीको निधनले मकवानपुरको संगीत क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।
लामो समयदेखि दम, प्रेसर र सुगर रोगबाट ग्रसित जोशी सेवा निवृत शिक्षक हुन् । उनको जन्म ललितपुरको बल्खु, क्वाको टोलमा १९९९ असार १२ गते भएको थियो । उनी मकवानपुर आएपछि कहिल्यै जन्मथलो फर्किएनन् ।
२०२४ सालमा नव कलाकुञ्जको निम्तोमा हेटौंडा आइपुगेका जोशीले मकवानपुरलाई कर्मथलो बनाएका थिए । ‘ललितपुर छोडेर मकवानपुर आएपछि उता फर्किनै मानेन । यहाँको सांगीतिक मायाले तान्यो । मकवानपुरमै केही गरौं भन्ने लाग्यो ।’, जोशीले केहीवर्ष अघि साझाकुरासँगको कुराकानीमा भनेका थिए । जोशीले दर्जनौं गीतमा संगीत भरेका छन् । जोशीका संगीतमा स्व. फत्तेमानदेखि हालका लोकप्रिय गायक राजेशपायल राईसम्मले स्वर अजमाएका छन् ।
संगीतकार जोशीले ‘हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्र्यौ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायतका लोकप्रिय गीतमा संगीत गरेका छन् । उनी हार्मोनियमसँगै तबला, बाँसुरी बजाउने कलामा पनि पोख्त छन् । जोशीले धेरै गायकहरु पनि जन्माए ।
२०३७ सालमा ‘हे मेरा मित्रहरु’ गीतमा संगीत भरेर संगीतिक क्षेत्रमा जोशीले पाइला अघि सारेका थिए । उनीद्वारा संगीतबद्ध बिस्र्यो क्यार खाएको कसममा लोचन भट्टराईले, विषलाई पिएर पनि हाँसिरहेछुमा फत्तेमानले र जुनमाया मैले तिमीलाई दिएथेँमा राजेश पायलले स्वर भरेका छन् । नेपाली संगीतका चण्डी काफ्ले, चेतन सापकोटा, शिखर सन्तोषलगायत धेरै जोशीको चेला हुन् ।