सवारी साधनको संख्या बढेसँगै नियमविपरित सञ्चालन भएका सवारीसाधन ट्राफिक प्रहरीको कारबाहीमा पर्ने क्रम पनि उल्लेख्य बढिरहेको छ । सडकमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे र ठूला सवारी साधनहरुको चाप बढ्दै जाँदा सवारी नियम उल्लंघन गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । ट्राफिक प्रहरीले विभिन्न समय र स्थानमा गर्ने सवारी चेकजाँचको समयमा उल्लेख्य सवारी कारबाहीमा पर्ने गरेको हुँदा सवारी चालकहरु सवारी नियमको पालनामा गम्भीर हुन नसकेको आभाष हुन्छ । सवारी नियम पालना नहुँदा ट्राफिक व्यवस्थापनमा जटिलतामात्र भइरहेको छैन, दुर्घटना पनि बढिरहेको छ । सवारी नियम पालना नगर्नेहरुबाट ट्राफिक प्रहरीले उल्लेख्य जरिवाना संकलन गरे पनि त्यसलेमात्र सवारी नियम पालना गराउन सफल नभएको देखिन्छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७६/०७७ मा नियमविपरीत सञ्चालन भएका १७ हजार ४ सय १४ वटा सवारीलाई कारबाही गरेको छ । यस्ता सवारी साधनको
जरिवानावापत एक करोड २४ लाख ७५ हजार रुपियाँ राजस्व संकलनसमेत ट्राफिक प्रहरीले गरेको छ । एक वर्षको अवधिमा कारवाहीमा परेका ६ हजार ७२ वटा ट्रक÷ट्रिपर र ट्यांकरबाट ट्राफिकले ४५ लाख १७ हजार रुपियाँ जरिवाना असुल गरेको छ । यस्तै, ४ हजार एक सय १८ वटा मोटरसाइकललाई कारबाही गरेर ३१ लाख ३३ हजार ५ सय रुपियाँ जरिवाना असुल गरेको छ । कारबाहीमा परेका ३ हजार ६ सय १ वटा जीप÷कारबाट २२ लाख १२ हजार ५ सय रुपियाँ जरिवाना उठाएको ट्राफिकले एक हजार १ सय ४९ वटा बसलाई कारबाही गर्दा ७ लाख ६४ हजार रुपियाँ जरिवाना बापत उठाएको छ । एक वर्षको अवधिमा कारबाहीमा परेका ७ सय ६३ वटा ट्याक्टरबाट र ५ लाख ५० हजार तथा एक हजार ७ सय ११ वटा टेम्पो÷मयुरीबाट १२ लाख ९८ हजार रुपियाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ । एक वर्षको अवधिमा भएका सवारी कारबाहीमध्ये ४ हजार ३ सय ४७ वटा सवारी साधन कागजपत्र नियमित नभएका, १ हजार ८ सय ९६ वटा सवारी चालक अनुमतिपत्र नभएका तथा नवीकरण नभएका सवारी छन् । यसैगरी, ओभरलोड बोक्ने ३ हजार ५ सय ३१, सडक इजाजत नभएका १ हजार ४ सय ४५, मादकपदार्थ सेवन गरी सवारी चालउने १ सय ७६, प्रयोजन विपरीत चलाएका २ सय २४, तीव्र गतिमा चलाएका २ सय ९२ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक मकवानपुरको तथ्यांकमा उल्लेख छ ।
सवारी चलाउँदा नियमको पालना गर्नु आवश्यक भएकाले नियमअनुसार नचलेका सवारी कारबाहीमा पर्नु सामान्य भए पनि एउटै जिल्लामा यति धेरै सवारी कारबाहीमा पर्नुलाई राम्रो मान्न सकिँदैन । सवारी नियम पालना नगर्दा सवारी व्यवस्थापन तथा नियमनमा समस्या पर्नुका साथै दुर्घटना वृद्धिमा पनि सहयोग पुग्ने निश्चित छ । सवारी चापको तुलनामा ट्राफिक प्रहरीको जनशक्ति न्यून भएको र परम्परागत ढंगबाट गरिने सवारी चेकजाँचले सवारी नियमन गर्न सम्भव नहुने भएकाले प्रविधिको प्रयोगबाट चुस्त सवारी अनुगमन र नियमनतर्फ अग्रसर हुनु आवश्यक देखिन्छ ।