हेटौंडा,/ बागमती प्रदेशको मुकाम हेटौंडामा तरकारीको मूल्य आकाशिएको छ । लकडाउन खुलेसँगै तरकारीको मूल्य पनि बढेको हो ।गतहप्तादेखि तरकारीको मूल्य बढेको उपभोक्ताले जानकारी दिएका छन् । दैनिक तरकारीमा भएको मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । हेटौंडा–१०, बसपार्क नजिक तरकारी बजार र खोपगल्लीबाट तरकारी बिक्री वितरण भइरहेको छ ।
हेटौंडामा एक हप्ताअघि काउलीको १ सय ४०, गोलभेडाको ५० रुपैयाँ मूल्य थियो । हाल बढेर काउलीको १७०, गोलभेडाको ९० पुगेको छ। मूल्य बढेर भिडे खुर्सानी १८०, रायोको साग ७० रुपयाँ मुठा, लौका ७०, भिण्डी १२०, करेला ८०, फर्सी ५०, आलु ६५ रुपयाँ पुगेको छ । यसरी अत्याधिक रुपमा तरकारीको मूल्य बढ्दा उपभोक्ता चिन्तित भएका छन् ।
तरकारी व्यवसायीले मनलाग्दी तरिकाले मूल्यवृद्धि गरेको उपभोक्ताले आरोप लगाएका छन् । मकवानपुरगढीका सुरेन्द्र हुमागाईंले तरकारी किनेर खान नसक्ने बताए । ‘पहिला यो सबै तरकारी २०, ३० रुपैयाँ किलोमा आउँथ्यो। अब १ सय रुपैयाँमा पनि आउँदैन् । सामान्वय परिवारले तरकारी खिनेर खान सक्दैन् ।’, हुमागाईंले भने । तरकारीको मूल्य व्यवसायीले नै बढाएको भन्दै अनुगमन गर्न सरकारी निकायलाई आग्रह गरेका छन् ।
हेटौंडा–८ कमानेकी आशिका श्रेष्ठले तरकारीको मूल्य धेरै बढ्दा दैनिक ज्याला मजदुर गरेर पेट पाल्नेलाई ठूलो मर्का परेको बताइन् । उनले कोरोना महामारीको बेला तरकारीको मूल्य सस्तो हुनुपर्नेमा झन बढेको भन्दै आपत्ति जनाएकी छन्। उपभोक्ताहरुले तरकारी उत्पादक किसानले उचित मूल्य पाउन नसकेको अवस्थामा विचौलियाले भने फाइदा उठाएको आरोप लगाएका छन् ।
विचौलियाले लकडाउनको व्यापार घाटा उठाउन एक्कासी तरकारीको मूल्य वृद्धि गरेको उपभोक्ताहरुको आरोप छ । हेटौंडामा पछिल्लो समय हरियो तरकारी तथा माछामासुमा अत्याधिक मूल्य बढेको छ । तरकारी व्यवसायीहरुले भने वर्षाले गर्दा तरकारी उत्पादनसँगै आयातमा समस्या भएकोले मूल्य पनि स्वभाविक रुपले बढेको बताएका छन् ।