हेटौंडा, /सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा मकवानपुर र चितवनमा कार्यरत चार प्रहरीलाई नियन्त्रणमा लिइएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आर्थिक प्रलोभनमा पर्ने १ हवल्दारसहित ३ जना प्रहरी जवानलाई आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । कार्यालयले प्रहरीको विशेष टोली पठाएर घुस रकम लिने प्रहरीलाई सोमबार नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए । घुस मागेको गुनासो आएपछि परिचालित विशेष टोली सेवाग्राही बनेर प्रहरीकोमा पुग्ने गरेका थिए ।
कारबाहीमा परेका प्रहरी प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र चितवनमा कार्यरत थिए । ४ जना प्रहरीलाई सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिएर प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएको प्रहरी प्रवक्ता गिरीले जानकारी
दिए । जसमध्ये २ जना प्रहरी ट्राफिक प्रहरी कार्यालय मकवानपुरको रातोमाटे र ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनमा कार्यरत थिए ।
२ जना इलाका प्रहरी कार्यालय रामनगर चितवन र इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा कार्यरत रहेको
गिरीले बताए । उनीहरु प्रहरी नियमावली अनुसार कानूनी कारबाही गरिने गिरीले जनाए । प्रदेश प्रहरी कार्यालयले इमान्दार प्रहरीलाई पुस्कृत गर्ने र गैह्र व्यवसायिक कार्यमा संलग्न प्रहरीलाई कारबाही गर्न विशेष अभियान सञ्चालन गरिएको गिरीको भनाई छ ।
कार्यालयले गत आर्थिक वर्ष २०७६÷०७७ मा प्रदेशका २ सय २९ जना प्रहरीलाई कारबाही गरेको छ । यसैगरी बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरीलाई घुस रकम दिन खोज्ने सेवाग्राहीलाई पनि कारबाही गरेको छ । सिन्धुलीका ९ जना र मकवानपुरका १ जनालाई कारबाही गरिएको प्रवक्ता गिरीले जानकारी दिए । सिन्धुली र मकवानपुरमा कार्यरत ७ जना प्रहरीलाई पुरस्कृत पनि गरिएको छ ।