असहज परिस्थितिजन्य मौका छोपी कृत्रिम अभाव, मिसावट, मूल्यवृद्धिजस्ता कालोबजारी गर्ने परिपाटी नेपाली बजारको रोग नै बनेको छ । अहिलेको कोरोना महामारीमा पनि बजारमा थुप्रै अव्यवस्था देखियो । यस्तै बजार अव्यवस्थाको महत्वपूर्ण दृष्टान्त बनेको छ, तरकारीको मूल्य । कारोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारले घोषणा गरेको लकडाउन लामो समयसम्म कायम रहँदा अर्थतन्त्र कमजोर र जनजीवन कठिन बन्यो । कोरोना भाइरस संक्रमणको जोखिम रहँदारहँदै पनि सरकारले अर्थतन्त्र चलायमान बनाउन र जनजीवन सामान्य बनाउनकै लागि लकडाउन अन्त्य गरी धेरै क्षेत्र खुला गरेपछि बजारमा तरकारीको मूल्य अस्वभाविक वृद्धि भयो । पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिले देशका सबै मुख्य बजार र आम उपभोक्तालाई प्रभावित बनाएको छ ।
लकडाउन अन्त्य भएसँगै बजारमा तरकारीको मूल्य अकल्पनीय किसिमले वृद्धि भएको छ । लगातारको वर्षापछिको बाढी, पहिरो र डुबानबाट तरकारी आपूर्तिमा केही कमी भएको भए पनि बजारमा व्यापक मूल्यवृद्धि हुनुलाई स्वभाविक मान्न सकिन्न । संघीय राजधानी काठमाडौंसँगै बागमती प्रदेशको राजधानी हेटौंडा तथा पोखरा, भरतपुरजस्ता मुख्य शहरमा तरकारीको मूल्य आकाशिएको छ । लकडाउन खुलेसँगै गत हप्तादेखि तरकारीको मूल्य बढेको हो । एक हप्ताको बिचमा हेटौंडा बजारमा काउली, गोलभेँडा, भिँडे खुर्सानी, साग, लौका, भिण्डी, करेला, फर्सी, आलुलगायत सबैजसो तरकारीको मूल्य आकाशिएको छ । बिनाकारण एक्कासि अत्याधिक रुपमा तरकारीको मूल्य बढ्दा उपभोक्तालाई चिन्तित बनाउनु स्वभाविक हो । लकडाउनको समयमा भारत तथा अन्यत्रबाट तरकारी आयात नहुँदा पनि सस्तोमा तरकारी उपभोग गरिरहेका उपभोक्ताले लकडाउनको अन्त्यसँगै महंगो तरकारी किन्न बाध्य हुनुुले बजारको अव्यवस्थालाई उजागर गरेको छ । खाद्यान्न, माछामासु, अण्डा, निर्माण सामग्रीलगायत अधिकांश सामानमा मूल्य वृद्धि भएको भए पनि तरकारीमा अस्वभाविक र चर्को मूल्यवृद्धिले बजारमा बिचौलियाको चलखेल नै मुख्य कारण हुनसक्ने अनुमान गर्न कठिन छैन । कोरोनाका कारण आम्दानी गुमिरहेको आम सर्वसाधारणलाई महंगीको मारले सताइरहेको छ । उपभोक्ताको लागि भान्छाको तरकारी महंगो बन्न पुगेपछि धेरै चुल्हाहरुलाई प्रभावित पार्ने निश्चित छ ।
अचानक तरकारीको मूल्य बढ्नलाई कुनै ठोस कारण चाहिन्छ । अहिले भइरहेको वर्षा एउटा सामान्य कारण भएपछि सबै प्रकारको तरकारीको मूल्य बढ्न उक्त कारण पर्याप्त छैन । टमाटरजस्ता झरीले असर गर्ने तरकारीको मूल्य केही वृद्धि हुनु स्वभाविक भए पनि आलुको समेत मूल्य आकाशिनुको उचित कारण पक्कै देखिँदैन। तरकारी उत्पादक किसानले उचित मूल्य पाउन नसकेको तर, उपभोक्ताले महंगो तिर्नु परेको अवस्थामा बिचौलियाले मात्रै फाइदा उठाएको आरोप लाग्ने गरेको छ, जसलाई पूर्णरुपमा नकार्न सकिँदैन । लकडाउनको अवधिको घाटा उठाउन एक्कासी तरकारीको मूल्य वृद्धि गरेको उपभोक्ताको आरोपको छानविन हुुनपर्छ । नियमनकारी निकायले प्रभावकारी बजार अनुुगमन गरी मूल्यवृद्धिको कारण खोजी गर्नु आवश्यक छ ।