हेटौंडा,/ कोरोना महामारीमा अधिकांश बालबालिका विद्यालय जानबाट बञ्चित हुनुपर्यो । लकडाउनका कारण बालबालिका परीक्षा दिनमात्र नभई पढाईबाटै टाढिएका छन् ।
तर, मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीको बालगृहका बालबालिकालाई भने कोरोना कहरले खासै प्रभाव पारेको छैन् । बालबालिकाहरुले बालगृहभित्रै बसेर सिकाइलाई निरन्तरता दिएका छन् । लकडाउनमा पढाइलाई निरन्तरता दिँदै एकअर्कासँग अनुभव आदनप्रदान गरेर सिकाईलाई निरन्तरत दिएका हुन् । बालगृहमा अथान तथा विपन्न ५ देखि १६ वर्ष उमेरका ३३ जनाले आश्रय लिँदै आएका छन् ।
स्थानीय निजी विद्यालयमा कक्षा ७ सम्म र सार्वजनिक विद्यालयमा कक्षा ९ र १० सम्मको अध्ययनको व्यवस्था बालगृहले मिलाएको छ । लकडाउनले बन्द विद्यालय जान नपाए पनि बालगृहमा बस्दै आएकी पूर्णिमा सिंह जस्तै अन्य बालबालिकाको पढाइ पनि रोकिएन । ‘बालगृहका सरहरु, दाइहरुले पढाउनु हुन्छ, विहान ११ वजेबाट १ वजेसम्म पढ्ने गरेको छौं ।’, सिंहले भनिन् ।
बालगृहका शिक्षकले कक्षा अनुसार ६ वटा समूह बनाएर ठूला कक्षाकालाई पढाउने र साना कक्षाकालाई ठूला कक्षामा पढाउन सहयोग गर्दै आएका छन् । बालगृहका सुशील थापा मगरले साना कक्षाका बालबालिकालाई सिकाउँदै आएका छन् भने उनी स्वयमलाई बालगृहका शिक्षकले पढाईमा सहयोग
गरेका छन् ।
‘लकडाउनका कारण विद्यालय पढ्न जान नपाएपनि हामीहरुको नियमति पढाइ रोकिएको छैन् ।’ उनी भन्छन्।
लकडाउनको समयमा बालबालिकाहरुले बालगृहको सरसफाइलाई निरन्तरता दिएका छन् । उनीहरुले बालगृह परिसरमा तरकारी खेती पनि गरेका छन् । बालगृहका संयोजक सुरेन्द्र सापकोटाले बालकालिकाका लागि पढ्ने, पढाउन, खेल्ने र बारीमा काम गर्ने समय तालिका बनाएर लकडाउनलाई सदुपयोग गरिएको बताए ।
बालगृह परिसरमा उत्पादित तरकारीले दैनिक खानलाई गर्जो टरेको मात्र होइन यो पटक बन्दा उत्पादन गरी एक क्विण्टल बिक्रीसमेत गरिएको छ । बालिका मनिषा सार्की लकडाउनको सदुपयोग गर्दै पढाइसँगै काक्रो, बन्दा, काउली, गोलभेँडा, भण्टालगायतका तरकारी लगाएको बताइन् । बालगृहमै बसेर कक्षा १० मा अध्ययनरत रामराज शाहीले बालबालिकाहरुलाई नेपाली र अंग्रेजी पढाउँदै आएका छन् ।
बालबालिकाहरुलाई नियमित रुपमा कम्प्युटर कक्षा र नृत्य कक्षा सञ्चालन लगायतका व्यवहारिक ज्ञान प्रदान गरिँदै आएको छ । बालगृहका तीन जनाको गत वर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) रोकिएको थियो । यो वर्ष दुई जनाले एसईई दिने भएका छन् । नेपाल बाल संगठनले एसईई पूरा भएकालाई बालगृह बाहिर कक्षा ११ र १२ मा पढाइसँगै खाने, बस्ने र सीममूलक तालिममा सहयोग गर्दै आएको छ ।