हेटौंडा,/मकवानपुरका स्थानीय तहमा भ्रष्टाचार बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका अनुसार जिल्लाका स्थानीय तहमा भ्रष्टाचार बढेको हो ।
आयोगको दुई आर्थिक वर्षको तथ्यांकलाई आधार भन्दा स्थानीय तहमा भ्रष्टाचार बढेको हो । आर्थिक वर्ष २०७५÷०७६ मा मकवानपुरका स्थानीय तहका ७९ वटा भ्रष्टाचार सम्बन्धी उजुरी परेको थियो । गत आव २०७६÷०७७ मा १ सय वटा उजुरी मकवानपुरका स्थानीय तहमा परेका छन्। एकवर्षको अन्तरालमा २१ वटा बढी भ्रष्टाचारका उजुरी थपिएको तथ्यांकले देखाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको गतवर्ष गरेको एक सर्वेक्षणले पनि देशभरका स्थानीय तहमा भ्रष्टाचार बढेको निष्कर्ष निकालेको थियो । सर्वोक्षणमा सहभागी करिब १५ प्रतिशतले स्थानीय तहबाट भ्रष्टाचार भोगेको प्रतिक्रिया दिएका थिए भने २७ प्रतिशत सहभागीले निर्वाचनपछि स्थानीय तहमा भ्रष्टाचार अत्यधिक बढेको प्रतिक्रया दिएका थिए ।
स्थानीय तहको संघीय मामिला तथा सामान्वय प्रशासन मन्त्रालयअन्तर्गत योजनामा गतवर्ष ७४ र आव ०७५÷०७६ मा ५१ वटा उजुरी परेको छ । शिक्षा क्षेत्रका योजनामा पनि धेरै उजुरी परेका छन् । आव ०७५÷७६ मा शिक्षामा २८ वटा र गत आवमा २६ वटा उजुरी परेको अख्तियार कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
मकवानपुरमा संघीय सरकार, प्रदेश र स्थानीय तहअन्तर्गत्का योजनामा आव ०७५÷७६ मा १ सय ९३ वटा उजुरी आयोगको हेटौंडा कार्यालयमा परेको थियो । जसमध्ये १ सय २७ वटा भ्रष्टाचारको मुद्दा फछ्र्यौट भइसकेको छ । गतवर्ष ०७६÷७७ मा २ सय २५ वटा भ्रष्टाचारको उजुरी परेकोमा १ सय ३४ वटा मुद्दा फछ्र्यौट गरेको अख्तियार हेटौंडाले जानकारी दिएको छ ।
प्रदेश सरकारमा पनि भ्रष्टाचारको दर आंशिक बढेको तथ्यांकले देखाएको छ । प्रदेशका मन्त्रालयले सञ्चालन गरेको योजनामा आव ०७५÷०७६ मा ५६ वटा उजुरी परेको थियो भने गतवर्ष ६० वटा उजुरी परेको कार्यालयले जनाएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको योजनामा उजुरी धेरै परेको छ । दुईवर्षमा प्रदेशका मन्त्रालयहरु मध्ये उद्योगको उजुरी धेरै परेको हो । उद्योग मन्त्रालयको आव ०७५÷७६ मा २२ वटा र गतवर्ष ३१ वटा उजुरी परेको हो ।
प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको योजनामा उजुरी पनि बढी छ । मन्त्रालयको आव ०७५÷७६ मा १६ वटा र गतवर्ष ११ वटा उजुरी परेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको दुई आर्थिक वर्षमा एउटा पनि उजुरी अख्तियारमा परेको छैन । आव ०७५÷७६ मा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका योजनामा ८, सामाजिक विकास मन्त्रालयको ९ तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको १ वटा उजुरी अख्तियारमा परेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कुनै उजुरी परेको छैन् ।
गतवर्ष भौतिक अन्तर्गतको योजनामा ९, मुख्यमन्त्री कार्यालयको १, आर्थिक मामिलाको १ र सामाजिक विकास मन्त्रालयको ३ वटा उजुरी परेको अख्तियार हेटौंडाले जानकारी दिएको छ । आव ०७५÷७६ भन्दा गतवर्ष प्रदेशका मन्त्रालयको योजनामा
बढी उजुरी परेको तथ्यांकमा देखिन्छ । आयोगको तथ्यांकलाई आधार मान्दा प्रदेश र स्थानीय तहमा हरेकवर्ष भ्रष्टाचार बढिरहेको पाइएको हो । अख्तियार हेटौंडाको प्रदेश नम्बर २ को बारा र पर्सासहित बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, काभ्रेपलाञ्चोक, रामेछाप, मकवानपुर र चितवन कार्य क्षेत्र छ । गतवर्ष अख्तियार हेटौंडाले १७ वटा र आव ०७५÷७६ मा २० वटा स्टिङ अप्रेशनबाट भ्रष्टचारीलाई रंगेहात पक्राउ समातेको छ ।