हेटौंडा/मुलुककै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्र रहेको मकवानपुरको निर्यात व्यापारमा उतारचढाव भइरहेको छ । दशकअघिको तुलनामा झण्डै ८० प्रतिशतले निर्यात व्यापारमा गिरावट आए पनि पछिल्ला वर्षहरुमा भने केही घटबढको अवस्था देखिएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को तुलनामा बितेको आर्थिक वर्ष २०७६÷७७ मा निर्यात व्यापारमा झण्डै २ करोड रुपैयाँभन्दा बढीले गिरावट आएको छ । तर, २०७४÷७५ को तुलनामा भने बितेको वर्षको व्यापार सन्तोषजनक नै देखिन्छ । आर्थिक वर्ष २०७५÷७६ मा मकवानपुरको निर्यात व्यापार ३८ करोड ५० लाख रुपैयाँ रहेकोमा बितेको वर्ष ३६ करोड ११ लाखमा सीमित बन्न पुगेको हो । आव २०७४÷७५ मा भने निर्यात अत्यन्तै खुम्चिएर २० करोड ७८ लाख २७ हजारमा झरेको थियो । पछिल्ला वर्षहरुमा मकवानपुरमा निर्यातजन्य उद्योगहरु आधा दर्जनको संख्यामा खुम्चिएका छ । २०७५÷७६ र ०७६÷७७ मा ५ वटा उद्योगले मात्र भारत तथा तेस्रो मुलुकमा आफ्नो सामान निर्यात गरेका छन् ।
दश वर्षअघि आब २०६५÷०६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्नो उत्पादन निकासी गरेकोमा आब ०७६÷७७ सम्म आइपुग्दा ५ वटामा खुम्चिन पुगेको छ । आब ०६५÷६६ मा जिल्लाबाट एक अर्ब २७ करोड १५ लाख ६५ हजार रुपैयाँको औद्योगिक उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएको थियो । दशकअघिको व्यापारको तुलनामा बितेको वर्षको व्यापारमा झण्डै ८० प्रतिशतले गिरावट आएको देखिन्छ।
आव २०७०÷०७१ सम्म मकवानपुरबाट निर्यात ब्यापार गर्ने उद्योगको संख्या २२ थियो । आव २०७१÷०७२ मा ४८ करोड ७७ लाख रुपैयाँको उत्पादन निर्यात भएकोमा आव ०७२÷०७३ मा ३७ करोड ५ लाख रुपैयाँमा निर्यात व्यापार झरेको मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकमा उल्लेख छ । आव २०७३÷०७४ मा पनि ३५ करोडको सामान निर्यात भएको थियो । मकवानपुरमा भएका
बहुराष्ट्रिय कम्पनीहरुले पनि आफ्नो उत्पादन नेपालमै सीमित गर्नु र धेरै उद्योगहरु बन्द हुनुका कारणले पनि मकवानपुरको निर्यात
व्यापारमा कमी आएको उद्योग वाणिज्य संघको भनाइ छ । निर्यात व्यापार सुस्ताएसँगै निर्यातबापत सरकारलाई प्राप्त हुने राजस्वमा पनि भारी गिरावट हुन पुगेको छ । बितेको आर्थिक वर्ष २०७६÷७७ मा मकवानपुरबाट सिएसआई नेपाल प्रालिले सबैभन्दा धेरै २४ करोड ९२ लाख ८० हजार रुपैयाँको उत्पादन भारत निकासी गरेको छ । बहुराष्ट्रिय उद्योगहरु पेय पदार्थको बिर्को उत्पादन गर्ने सिआएसआईले लामो समयदेखि मकवानपुरको निर्यात व्यापारमा योगदान दिँदै आएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको तथ्यांकअनुसार गत वर्ष हिमालयन काथा उद्योगले १० करोड ५४ लाख रुपैयाँको सामाग्री निकासी गरेको थियो भने बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले एक लाख २७ हजार रुपैयाँको साबुन, स्याम्पुलगायतको सामान निर्यात गरेको थियो । भर्खरै मात्र सञ्चालनमा आएको गोदावरी पोलिप्याक्स एण्ड फेबिकले पनि पहिलो वर्ष नै २३ लाख ५२ हजार रुपैयाँको प्लाष्टिकको बोरा निर्यात गर्न सफल भएको छ । त्यस्तै स्थानीय जडिबुटीको प्रयोग गरी क्यान्सरको औषधि उत्पादन गर्ने इभान्स लाईफ साइन्सेस प्रालिले पनि पहिलो वर्ष ४० लाख रुपैयाँको औषधि विदेश निर्यात गरेको छ । औषधि व्यवस्था विभागबाट १४ किलो औषधि निर्यात गर्ने अनुमति लिएकोमा गत वर्ष उद्योगले ८ किलो औषधि निर्यात गरी उक्त रकम आम्दानी गरेको हो ।
आव २०७५÷७६ मा ३ करोड ७ लाख रुपैयाँको ट्रान्सफर्मर भुटान, वंगलादेशलगायतको मुलुकमा निकासी गरेको इकरात इन्जिनियरिङ कम्पनी प्रालिको बितेको वर्षको निर्यात शून्य छ । आव ०७५÷७६मा २९ लाखभन्दा बढी रुपैयाँको खरिढुङ्गा निकासी गरेको टेन माइक्रोन्स नेपाल प्रालिले पनि बितेको वर्ष कुनै पनि निर्यात गर्न सकेन। कार्पेट उत्पादन गर्ने एमएम पोलिमर्सको निर्यात पनि बितेको वर्ष शून्यमा सीमित बन्यो ।
‘बितेको वर्षको निर्यात व्यापारलाई कोरोना भाइरसको महामारीले निकै ठूलो प्रभाव पा¥यो । सरकारको अदूरदर्शी नीति र विभिन्न झन्झटिला कानुनका कारण निर्यात व्यापार बर्सेनि ओरालो लाग्दै आएको त छँदै थियो ।’ मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले भने । दशकअघि क्रसरजन्य उत्पादनहरु, जडिबुटी, अदुवा, लसुनहरु विदेशमा निर्यात हुने गरेकोमा सरकारी नीतिकै कारण सबै व्यापार ठप्प हुन पुगेको अध्यक्ष कटुवालको भनाइ छ । निर्यातजन्य उद्योगहरुलाई सरकारले संरक्षण गर्न नसकेको कारण पनि धेरै उद्योगहरु बन्द हुन पुगेको उनको भनाइ छ ।
बर्सेनि करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरु बन्द भइसकेका छन् । त्यस्तै एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरु पनि केहीवर्षअघिदेखि अस्तित्वमा छैनन् । एसियन पेन्ट्स्, एन्टार्टिक बिस्कुट जस्ता बहुर्राष्ट्रिय उद्योगले पनि ६ वर्षदेखि आफ्नो उत्पादन निर्यात गरेका छैनन् । चुरोटको निकासी गर्दै आएको गोर्खा लाहारी प्रालिले पनि केहीवर्षअघिदेखि भारत निकासी बन्द गरेको छ ।