हेटौंडा,/ मकवानपुरका ३ वटा स्थानीय तहहरुले अझै बजेट नल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मकवानपुरको भीमफेदी, बकैया र बागमती गाउँपालिका आर्थिक वर्ष २०७७÷७८ को बजेट र नीति तथा कार्यक्रम मन्त्रालयमा अझै पेश गरेका छैनन् ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार असार १० गते गाउँ वा नगरसभामा पेश गरी असार मसान्तसम्म बजेट पारित साउन १ गतेबाट बजेट कार्यान्वयन सुरु गर्नुपर्नेमा मकवानपुरका ३ स्थानीय तहले साउन दोस्रो साता भइसक्दा पनि बजेट र नीति तथा कार्यक्रम पास गरेका छैनन्। बजेट पारित भए पनि गाउँपालिका अध्यक्षले प्रमाणीकरण नगरिसकेकाले संघीय मामिला मन्त्रालयमा रिपोर्ट पठाइनसकिएको भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन कुवँरले जानकारी दिए । पारित भइसकेको बजेट नेपाल सरकारको सुत्र नामको प्राविधिमा अपडेट नगरिसकिएकाले मन्त्रालयको रेकर्डमा नदेखिएको उनको भनाइ छ । गाउँपालिकाले असार २५ गते नै बजेट पारित गरेको उनले बताए ।
त्यस्तै बकैया गाउँपालिकाले पनि असार २६ गते बजेट पारित गरिसकेको तर, प्राविधिक काम बाँकी रहेको बताएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले गाउँसभाबाट बजेट पारित भएपछि आफूहरुले सुत्रमा अपडेट गरिरहेको र अबको केही दिनमा सकिने बताए। बागमती गाउँपालिकाले भने असार २० गते मात्रै गाउँसभा गरी बजेट र नीति तथा कार्यक्रम पेश गरेको थियो । त्यसपछि गाउँसभा नै नबसेको र बजेटसमेत पारित हुन नसकेको गाउँ कार्यपालिकाका एक सदस्यले जानकारी दिए । बजेट पारित भएपछि मात्रै स्थानीय तहलाई खर्च गर्ने बाटो खुल्छ । बजेट ल्याउन नसक्दा पालिकाको विकास निर्माणसहित पुँजीगत काममा समस्या देखिन्छ ।
बागमती प्रदेशमा काठमाडौं उपत्यकाभित्रका पाँचसहित २८ वटा पालिकाले बजेट ल्याउन असफल भएका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका, बुढानिलकण्ठ नगरपालिका,
शंखरापुर नगरपालिका, भक्तपुरको भक्तपुर नगरपालिका, मध्यपुरथिमी नगरपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका, दोलखाको शैलुङ गाउँपालिका, रसुवाको आमाछोदिङमो गाउँपालिका, धादिङको खनियाबास गाउँपालिका, गजुरी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नुवाकोटको ककनी गाउँपालिका, काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका, चौंरीदेउराली गाउँपालिका, तेमाल गाउँपालिका, भुम्लु गाउँपालिका र चितवनको रत्ननगर नगरपालिकाले पनि बजेट ल्याइनसकेको
बताइएको छ ।