हेटौंडाबाट नियमित प्रकाशन भइरहेको साझाकुरा दैनिक आफ्नो दशकको यात्रामा अघि बढेको छ । ‘तपाईं हामी सबैको कुरा’ भन्ने आदर्श वाक्यसहित २०६८ साउन १५ गतेबाट प्रकाशन सुरु भएको साझाकुरा दैनिक ९ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको हो । तत्कालीन समयमा केही विशिष्टता तथा फरकपनका साथ प्रकाशन सुरु भएको यो दैनिक अखबारले छोटो समयमै आम पाठकको मन जित्न सफल भएको यथार्थ कसैबाट लुकेको छैन । सुरुवातदेखि नै आफ्नो उत्कृष्टता कायम गर्दै प्रेस काउन्सिल नेपालको वर्गीकरणमा निरन्तर ‘क’ वर्गमा पर्न सफल हुनु तपाईं हामी सबैको लागि गर्वको कुरा हो ।
सूचना प्रविधिको विकास र विस्तारले विभिन्न अनलाइन समाचार पोर्टलहरु फस्टाउँदै जाँदा दैनिक अखबार संकुचित बन्न थालेका छन् । मोबाइल तथा इन्टरनेटको सहज उपलब्धताले हातहातमा रहेको मोबाइल सेटमार्फत् डिजिटल सूचनाको उपयोग बढ्दै गएको छ । सामाजिक सञ्जाल तथा विभिन्न अनलाइनले आम मानिसलाई सूचनामा सहज पहुँच प्रदान गरेको भए पनि कतिपय अनलाइन तथा सामाजिक सञ्जालबाट आउने सूचना तथा समाचारको वैधता र विश्वसनियतामाथि प्रश्न उठ्ने गरेको छ । समाचार दिन को पहिला भन्ने अस्वस्थ प्रतिस्पर्धामा अपुुष्ट, अपुरो तथा भ्रामक समाचार केही अनलाइनबाट सम्प्रेषण भइरहँदा यो समस्याबाट हालसम्म पनि साझाकुरा दैनिक मुक्त हुन सक्नुलाई सकारात्मक मान्नुपर्छ । सहज अभिलेखीकरण र विस्तृत समाचारका लागि अझै पनि अखबारको आवश्यकतालाई नकार्न सकिँदैन । तर, पनि मोफसलबाट प्रकाशित अखबारहरु अझै व्यावसायिक बन्न सकका छैनन् । छिल्लो समय मुलुक संघीय
संरचनामा गएपछि प्रदेश र अधिकारसम्पन्न स्थानीय सरकार हुँदा पनि अखबार प्रकाशन गर्न समस्या कायमै छ। सूचनाको समानुपातिक वितरण नहुनु, मोफसलमा व्यावसायिक विज्ञानपन नपाइनु, विज्ञापनको दररेट समयसापेक्ष हुन नसक्नु, अखबारका पाठकहरु कम हुँदै जानु अनि समयानुकूल अखबारको स्तरीकरण हुन नसक्नु मोफसलका अखबारका मुख्य चुनौती हुन् । यिनै चुनौतीको बीचमा एक दशकको यात्रा तय गर्नेक्रममा साझाकुरा दैनिकले आफूलाई थप परिमार्जित र परिस्कृत बनाउन अग्रसर हुने विश्वास पाठक तथा विज्ञापनदातासमक्ष व्यक्त गर्दछौं ।
आफूले चाहेका र जान्न खोजेका कुराहरु आधुनिक प्रविधिमार्फत् तत्काल प्राप्त गर्न सफल पाठकका लागि अखबारको लोकप्रियता कम हुँदै गएको छ । हेटौंडालाई औद्योगिक नगरीको रुपमा चिनिने गरेको भए पनि यहाँका उद्योगहरुले स्थानीय सञ्चार माध्यमलाई आशातित विज्ञापन नदिँदा अखबारलाई स्तरीकरण गर्न नसकिरहेको अवस्थामा प्रदेशको स्थायी राजधानी भएपछि केही सम्भावना थपिएका छन् । बागमती प्रदेशको राजधानीबाट प्रकाशन हुने ‘साझाकुरा’ दैनिकसामुु अहिले थुप्रै चुनौती र अवसर सृजना भएको छ । हामी दशौं वर्ष प्रवेशको अवसरमा आइपर्ने चुनौती सामना गर्दै अवसरलाई सदुपयोग गरी अखबारको स्तरीकरणसँगै वितरण प्रणालीलाई प्रदेशका सबै जिल्लामा पुु¥याउने सोचमा रहेका छौं । आम पाठक र विज्ञानपदाताको शुभेच्छा र सहयोगबाट नै सफलताको अर्को तह हासिल गर्ने प्रण गर्दछौं ।