हेटौंडा, / मकवानपुरको उत्तरी क्षेत्रको ‘समृद्धि ढोका’को रुपमा लिइएको चित्लाङ–थानकोट सडक (गणेश मान सिंह मार्ग) वर्षौदेखि अलपत्र छ ।
२०७३ सालमा सडक निर्माण सुरु गरेको ठेकेदार कम्पनीले निर्माण भन्दा पनि ढुंगा बेच्नेतर्फ ध्यान दिँदा चित्लाङ–थानकोट सडक अलपत्र परेको हो । कुलेखानी–मार्खु–चित्लाङ–थानकोट मार्ग करिब १५ महिनाभित्र सकाउने पर्ने समयावधि भएपनि काठमाडौंतर्फको सडक निर्माण गर्ने ठेक्का पाएको पीएस÷किराँतेश्वर जेभीले ५ वर्षसम्म पनि निर्माण कार्य पूरा गरेको छैन ।
२२ दशमलव ५ किलोमिटरको उक्त मार्गको निर्माण कार्य हालसम्म ४० प्रतिशत मात्रै भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीले कटिङ र ग्याबिन मात्रै काम गरेको छ । उनले ढुंगा बेच्न नपाएपछि निर्माण कम्पनीले काम नगरेको बताए । ‘मार्गमा ६ किलोमिटर ढुंगाको पहाड छ । ठेकेदारले सडक बनाउने भन्दा पनि त्यो पहाडबाट ढुंगा निकालेर बेच्न मात्रै व्यस्त भए । त्यसैले काम हुन नसकेको हो ।’, विष्टले भने ।
चन्द्रागिरी र थाहा नगरपालिकाले निर्माण कम्पनीलाई ढुंगा बाहिर बिक्री गर्न रोक लगाएपछि काम रोकिएको जनाइएको छ । ‘त्यहाँको ढुंगा बाहिर बिक्री गर्ने अनि यही काम गर्नको लागि बाहिरबाट ढुंगा किन्ने काम उचित होइन् । त्यसैले ठेकेदार कम्पनीलाई ढुंगा बेच्न हामीले रोक लगाएका थियौं ।’, थाहा प्रमुख विष्ट भन्छन् । दुवै नगरपालिकाले पहिलो प्राथमिकतामा सडक निर्माण र दोस्रो चरणमा ढुंगा बिक्री गर्न कम्पनीलाई अनुरोध
गरेको थियो ।
जिल्ला वन कार्यालय काठमाडौंले उत्खनन् गरिएका वनक्षेत्रको ढुंगा लिलामी गरेको थियो । ढुंगा लिलामीको ठेक्का पनि पीएस÷किराँतेश्वर जेभीले लिएपछि कम्पनीले केही मात्रामा ढुंगा निकासी गरेको जनाइएको छ । कम्पनीले सडक बनाउन छोडेर ढुंगा निकासी गर्न थालेपछि नगरपालिका र स्थानीयले अवरोध गरेका थिए ।
चित्लाङ–थानकोट सडक (गणेश मान सिंह मार्ग) आयोजनाका प्रमुख इन्जिनियर वीरेन्द्र गौतमले अबको ६ महिनाभित्र सडक निर्माण कार्य सक्न निर्माण कम्पनीलाई निर्देशन दिएको बताए । आयोजनाले थानकोट–चित्लाङ मार्गको काठमाडौंतर्फ पानीघाटदेखि देउरालीसम्मको २ दशमवल ५ किलोमिटरको चट्टानी पहाड कटिङ गर्न समस्या भएको जनाएको छ । आर्थिक वर्ष २०७०÷०७१ देखि हालसम्म उक्त सडक योजनामा करिब ४५ करोड रुपैयाँ खर्च भइसकेको आयोजना प्रमुख गौतमले जानकारी दिए ।
नेपालको प्राचीन सडक अर्थात पुरातात्विक, ऐतिहासिक, धार्मिक महत्वका सम्पदाले भरिपूर्ण चित्लाङ जोड्न भीमफेदी–कुलेखानी–चित्लाङ–थानकोट मार्गको स्तरोन्नतिको लागि प्रदेश सरकारले पनि चासो देखाएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ६ महिनाभित्र सडक निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । १२ साउनमा चित्लाङमा अन्तक्रिया गर्दै भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले तत्काल सडक निर्माण पूरा गर्न निर्देशन दिएका हुन् विष्टले समग्र मकवानपुर र विशेष गरी उत्तरी क्षेत्र थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिकाको लागि थानकोट–चित्लाङ सडक ‘समृद्धिको ढोका’को बताए । ‘थाहाबाट एउटा डाँडो छिचोलेपछि करिब १ घण्टामै काठमाडौं पुगिन्छ । त्रिभुवन राजपथ हुँदै नौबिसेबाट काठमाडौं जाँदा ३, ४ घण्टा बढी लाग्छ ।’, उनले भने । देशकै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको थाहा र इन्द्रसरोबरको पर्यटन क्षेत्रको विकासका लागि यो सडक छिटो निर्माण गर्न जरुरी रहेको विष्ट बताउँछन् ।
त्रिभुवन राजपथ सञ्चालन हुनुपूर्व चित्लाङ काठमाडौं उपत्यकाको प्रवेशद्वार थियो । संस्कृति र इतिहासको अध्ययन गर्नेहरूका लागि महत्वपूर्ण गन्तव्यका रूपमा विकास हुँदै गएको चित्लाङको नाम पहिले चित्रापुर थियो । चैत्य जाने बाटो भएकाले पछि यसको नाम चैतलोङ रहन गएको थियो । पछि अपभ्रंश भएर यसको चित्लाङ रहन गएको स्थानीयवासी बताउँछन् । चित्लाङको उत्तरतर्फ चन्द्रागिरि डाँडा र दक्षिणतिर महाभारत क्षेत्र रहेको छ ।
२३ सय वर्ष पुरानो चित्लाङमा लिच्छिवीकालीन वास्तुकला र सम्पदा रहेका छन् । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराई जान चन्द्रागिरि डाँडो पार गर्दै चित्लाङ भएर जान्थे । भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौंमा गाडी बोकेर लैजाने गरेका थिए । स्थानीयले विक्रम सम्वत् २०१८ देखि २०२२ सम्म जनश्रमदानबाट यो मार्गको निर्माण गरेका थिए । सरकारले २०६२ सालदेखि यो सडक निर्माण सुरु गरेको हो ।