‘तपाईं, हामी, सबैको कुरा’ भन्ने अभियानका साथ हामीले २०६८ साल साउन १५ गते आजकै दिनदेखि सुरु भएको साझाकुरा राष्ट्रिय दैनिकको यात्रा १० औं वर्षमा प्रवेश गरेको खबर सुनाउन पाउँदा हामी गौरवान्वित भएका छौं । यस सु–अवसरमा हामी हाम्रा पाठक, विज्ञापनदाता र शुभेच्छुकप्रति धेरै आभार व्यक्त गर्दछौं । तपाईंहरुको यस्तै साथ, सहयोग मायाले जनआवाज बोल्ने उत्प्रेरणा हामीलाई सधैं प्राप्त भइरहनेछ । जनताको पक्षमा सूचना र समाचार प्रकाशनलाई हामी निरन्तरता दिइनै रहेका छन् । अनेकौं चुनौती र समस्याहरुको सामना गरेरै पनि हामी सत्य, तथ्य र निष्पक्ष समाचार पस्कनँ पछि हट्नै छैनौं। हामीले सम्प्रेषित गरेको सूचना र समाचारको मूल्यांकन गर्दै प्रेस काउन्सिल नेपालले पत्रपत्रिका वर्गीकरणमा साझाकुरा दैनिकलाई निरन्तर ‘क’ वर्गमा सूचीकृत गरिरहेको यहाँहरुलाई अवगत गराउन चाहन्छौं ।
लोकतन्त्रको संस्थागत विकास गर्दै प्रेस स्वतन्त्रता र नागरिकको आवाज बुलंद बनाउन सञ्चार माध्यमको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । प्रेस स्वतन्त्र भए मात्र नागरिक स्वतन्त्र हुनसक्छन् । त्यसैले राज्यका निकायले पनि सञ्चार माध्यमलाई अंकुश लगाउने चेष्टा गर्नु हुँदैन । स्वतन्त्र पत्रकारितामाथि बेला बेला हुने हस्तक्षेपको विरुद्ध पनि हामी निरन्तर लागि नै रहेका छौं । पत्रिकालाई हरेक नागरिकको मनमा रहने बनाउनको लागि हाम्रो अथक प्रयास दीर्घकालसम्म जारी रहनेछ । स्थापनाकालदेखि नै हामीले नेपाली सञ्चार माध्यमको भीडबाट अलग पहिचान स्थापित गराउँदै आएका पनि छौं । सत्य, तथ्य र निष्पक्ष समाचारका साथै आम नागरिकको विचार अनि आम सरोकारको विषयलाई प्राथमिकता दिँदै आएका छौं ।
अहिले मुलुक कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग लडिरहेको छ । रोगको महामारीका कारण विश्व नै प्रभावित बनिरहेको बेला त्यसबाट सञ्चार माध्यम पनि अछुतो छैन । निकै कठिन परिस्थितिका कारण हामीले केही समयअघि पत्रिकाको केही अंक प्रकाशन गर्न नसकेको पनि यथार्थ हो । तर, हाम्रो जाँगर र तत्परतालाई कायम राख्दै अघि बढिरहेका छौं । जनताप्रतिको जिम्मेवारीलाई हामीले भुलेका छैनौं । भूकम्प, आँधी हुरी, बाढी पहिरो जस्ता विभिन्न प्राकृतिक विपतिको सामना गरिसकेको हामीले अहिले कोरोना भाइरसको विपति खेपिरहेका छौं । यसबाट बच्न सक्दो सुरक्षाको उपाय अपनाएर मनोबललाई बलियो बनाई अब आ–आफ्नो क्षेत्रमा पुनः जागृत भइ पनि सकेका छौं । विश्वबाट नै यो रोगको महामारी चाँडै नै हटेर जानेछ भन्ने हामीले विश्वास लिएका छौं ।
मुलुक संघीय संरचनामा गएको पनि ३ वर्ष भइसकेको छ । प्रदेश र स्थानीय तहमा सरकार निर्माण भई मुलुकको समग्र विकासको लागि कामहरु भइरहँदा भ्रष्टाचार, अनियमितता, घुसखोरीको घटना भने झनै बढ्दै गइरहेको छ । यसका विरुद्ध हाम्रो खबरदारी जारी नै छ । यस्ता कामलाई निरुत्साहित गर्दै समुन्नत राष्ट्र निर्माणमा हामीले ध्यान दिइ नै रहेका छौं । जनताको हितलाई नै सर्वोपरी मानी निरन्तर हाम्रो कलम चलिरहन्छ । हामीले मकवानपुरमा पहिलोपटक वेबसाइटमा दैनिक घटना र विचारलाई विश्वभर पु¥याउने अभ्यास पनि गरिरहेका छौं । सबै राजनीतिक दल, व्यावसायिक र शैक्षिक क्षेत्र, बौद्धिक वर्ग, प्रशासकीय नेतृत्व, पेशाकर्मी, नागरिक समाज तथा समाजमा उपेक्षित भएका वर्गहरुसँग समेत हाम्रो सहकार्य निरन्तर रहनेछ । हाम्रा विज्ञापनदाता, पाठकवृन्द, सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाजलगायत सम्पूर्ण आम न्यायप्रेमी जनसमुदायको आगामी दिनमा पनि साथ र सहयोग रहिरहने विश्वासका साथ दशांै वर्ष प्रवेशको अवसरमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।

    सविन न्यौपाने
                 प्रकाशक